राजपा र फोरमबीच प्रदेश २ मा सरकार बनाउनका लागि सहमतीपत्रमा हस्तक्षरः कसले कुन कुन मन्त्रालय पाए ?

काठमाडौं, २८ माघ । प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको सरकार बन्ने भएको छ । बबरमहलस्थित राजपाको पार्टी कार्यालयमा शनिबार बसेको दुई दलका शीर्ष नेताहरूको बैठकले मन्त्रालय समेत बाँडफाँड गर्दै सरकार गठनबारे लिखित सहमति गरेको छ ।
फोरमले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र राजपाले सभामुखसहित तीन मन्त्रालय लिएर प्रदेश सरकार चलाउने सहमति भएको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए ।
केही दिनअघि जनकपुरमा भएको दुई दलका शीर्ष नेताहरूको वार्तामा मिलेर सरकार बनाउन सहमत भए पनि पदमा भागबन्डा मिल्न सकेको थिएन । बैठकमा मुख्यमन्त्रीमा आलोपालो गर्नुपर्ने राजपाले राखेको प्रस्ताव फोरमले अस्वीकार गरेपछि सहमति हुन सकेको थिएन ।
आफ्नो प्रस्तावमा फोरम सहमत नहुने देखेपछि शनिबारको बैठकमा राजपा केही लचिलो बनेको थियो । सोही कारण पाँच वर्ष प्रदेश २ मा सरकार चलाउने दुई दलबीच सहमति भएको हो ।
फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सहमति–पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार फोरमले मुख्यमन्त्रीसहित आन्तरिक मामिला (गृह) तथा कानुन, आर्थिक मामिला तथा योजना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उपसभामुख पाउने छ । राजपाले सभामुखसहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति–पत्रमा उल्लेख छ ।
प्रदेश २ मा फोरम र राजपा तालमेल गरी निर्वाचन लडेका थिए । दुई दलको बहुमत छ । प्रदेश सभाको प्रत्यक्षतर्फ ६४ सिटमध्ये संघीय समाजवादी फोरम २० र राष्ट्रिय जनता पार्टीले १५ सिट जितेका थिए । समानुपातिकतर्फको ४३ सिटमध्ये राजपाले १० र फोरमले नौ सिट पाएको छ । एक सय सात सांसद रहेको प्रदेश २ मा बहुमतका लागि ५४ सिट आवश्यक पर्छ ।
फोरमको २९ र राजपाको २५ जोडदा ५४ नै पुग्छ, जुन बहुमतका लागि आवश्यक सिट हो । सो प्रदेशमा प्रत्यक्षतर्फ वाम गठबन्धन (एमाले १२ र माओवादी केन्द्र सात) १९, कांग्रेसले नौ र एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । प्रदेश सभाको समानुपातिकतर्फ कांग्रेस ११, एमाले सात, माओवादी पाँच र नेपाल संघीय समाजवादी पार्टीले एक सिट पाएको छ ।
कुन मन्त्रालय कसलाई ?
ल फोरम
मुख्यमन्त्री, आन्तरिक मामिला (गृह) तथा कानुन, आर्थिक मामिला तथा योजना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उपसभामुख
ल राजपा
सभामुख, भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
साभारः नयाँ पत्रिकाबाट

No comments

Powered by Blogger.