फोरम–राजपामा सहमती
प्रदेश सरकारमा बरावरको भागिदारी, गृह र अर्थ फोरमलाई
काठमाण्डु । संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)नेपालबीच प्रदेश नम्बर २ मा संयुक्त सरकार बनाउन सहमति भएको छ ।पर्सा ३ बाट फोरम नेपालका प्रतिनिधि सभा सदस्य एवं पप्पु कन्सट्रक्सनका सञ्चालक हरिनारायण रौनियारको काठमाण्डु स्थित निवासमा बसेको दुवै दलका शीर्ष नेताहरुको बैठकले सरकार बनाउन मन्त्रालयहरुको बाँडफाँड गरेका छन् ।राजपाले पहिलो बैठकमा राखेको शर्तहरुलाई फोरमले अस्विकार गरेपछि दोस्रो बैठकमा सहज रुपमा नै सहमतिको वातावरण बनेको सहभागीहरुले जनाए ।‘दुवै दलबीच भएको पद बिभाजनमा असमानता छैन्’राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले भने, सरकारको प्रमुख पद फोरमले लिएको छ , व्यवस्थापिकाको प्रमुख पद हामीले लिएका छौ ।मन्त्रालयपनि बरावर बाडिएको छ ।‘शीर्ष नेताहरुको बैठकमा मन्त्रालयहरुको बाँडफाँडमा कुनै विवाद देखिएन’फोरम नेपालका महासचिव रामसहाय यादवले भने, ‘हामी सहज ढंगले नै सहमतिमा पुग्यौ । सहमति अनुसार फोरमले मुख्यमन्त्री , आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।त्यसैगरि राजपाले सभामुख, समाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएको छ ।मुख्यमन्त्री र मन्त्रिपरिषदको कार्यालय नै मुख्यमन्त्रीको कार्यलय रहने छ ।दुवै दलले ३÷३ जना मन्त्री छान्ने भएकाले मुख्यमन्त्री सित कुनै मन्त्रालय रहने छैन् ।फोरम संसदीय दलका नेता मो.लालबाबु राउतले भने, मुख्यमन्त्री भनेको प्रदेश सरकारको प्रमुख भएकाले सबै मन्त्रालय हेर्ने जिम्मेवारी हो ।थोरै मन्त्रालय भएकाले मुख्यमन्त्रीसित मन्त्रालय नराखिएको उनले बताए ।फोरमले राजपासितको शीर्ष नेताहरुको बैठकमा उनलाई सहभागि गराउन थालेको छ ।उप सभामुख फोरमको भागमा परेको छ ।संवैधानिक प्रावधान अनुसार सभामुख र उप–सभामुख मध्ये एकजना महिलालाई अनिवार्य रुपमा राख्नु पर्छ ।आन्तरिक मामिला(गृह) कानुन र आर्थिक मामिला तथा योजना मन्त्रालय राजपाले चाहेको थियो ।तर फोरमले सरकारको नेतृत्व गर्ने दललाई गृह र अर्थ हुनै पर्ने अडान लिएपछि राजपा पछि हटेको बताईएको छ ।यस अघि राजपाले ‘आलोपालो’ मुख्यमन्त्री र सभामुख सहित ४ वटा मन्त्रालय सहितको प्याकेजमा सहमति हुनुपर्ने धारणा राख्दै आएको थियो ।तर फोरमले राजपाको उक्त प्रस्तावलाई अस्विकारगर्दै सरकारको नेतृत्व गर्ने दलले बराबर मन्त्रालय लिने दावी गरेको थियो ।‘हामीले फोरमलाई प्राथमिकता दिएर कुरा गर्यौ ’राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले भने, दुवै पक्षबाट सकारात्मक छलफल भएर सहमतिमा पुगिएको हो ।’‘प्रदेश र प्रतिनिधि सभा चुनावमा सिट बाँडफाँडको बेला नै ठूलो दलले मुख्यमन्त्री पाउने सहमति भएकाले त्यसबाट पछि हटने कारण थिएन्’उनले भने, फोरमलाई ५ वर्ष सरकार चलाउने जनादेश रहेकाले उसको सुविधालाई ध्यान दिएका छौ ।’‘फागुनको पहिलो हप्तामै प्रदेश सरकार गठन हुनेछ’ राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, सरकार गठनपछि पनि राजपाले संसदीय दलको बैठक गर्न सक्छ । सभामुखको लागि फागुन २ गते चुनावको तिथि तोकिएको छ ।राजपाले सभामुख बनाउने प्रदेश साँसदको नाम अझै चयन गरेको छैन् । बैठकमा फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, महासचिव रामसहाय यादव र प्रदेश संसदीय दलका नेता मो.लालबाबु राउत सहभागि थिए ।राजपाबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यद्वय राजेन्द्र महतो र महेन्द्र राय थिए ।जनकपुर बैठकमा राजपा अध्यक्ष मण्डलका सबै ६ जना रहेकाले सहमति हुन नसकेको कतिपयको टिप्पणी थियो ।फोरमले राजपालाई छलफलका लागि ३÷३ जना मात्र बस्न प्रस्ताव गरेपछि राजपा अध्यक्ष मण्डलले ठाकुर, महतो र रायलाई पठाएको थियो ।
प्रदेश नम्बर २ मा
फोरमको भागमा
१. मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
२.आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३.आर्थिक मामिला तथा योजना मन्त्रालय
४.भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय
राजपाको भागमा
१. समाजिक विकास मन्त्रालय
२. भौतिक पूर्वाधार विकास मन्त्रालय
३.उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
राजपाले सभामुख, फोरमले उप–सभामुख
Post a Comment