राष्ट्रियसभाका लागि यसरी कुरा मिल्यो काँग्रेस र २ मधेशीदलहरु बीच
काठमाडौं, १० माघ । राष्ट्रियसभा निर्वाचनमा मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँग सहकार्य गर्ने भएका छन्।
संविधान संशोधन गर्ने विषयमा वाम गठबन्धनसँग कुरा नमिलेपछि मधेसकेन्द्रित दलहरुले अन्तिममा कांग्रेससँग चुनावी तालमेल गर्ने निर्णय गरेका हुन्।
सहमति अनुसार प्रदेश नम्बर २ मा तीन दलले समान २/२ सिट बाँडेका छन्। सुरुवाती वार्तामा मधेसकेन्द्रित दुई दलले कांग्रेसलाई एक सिट मात्र दिन सकिने बताए पनि नेकपा एमाले र माओवादी केन्द्रसँग कुरा नमिलेपछि २ सिट नै दिन तयार भएका हुन्।
नेता वृषेशचन्द लालले कांग्रेससँग आगामी सहकार्यको बाटो खुला गर्दै दुई सिट दिन तयार भएको बताए।
वाम गठबन्धनले प्रदेश २ मा दुई सिटमा मात्र उम्मेदवारी दिने निर्णय यसअघि नै गरिसकेका छन्।
यस्तो छ समीकरण
राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले २ सिट जित्ने समीकरण तय छ। बाँकी ६ सिटमध्ये राजपा र फोरम मिल्दा समान २/२ सिट जित्ने आकलन छ। मधेसकेन्द्रित दुई दलसँग मिल्दा कांग्रेसले समेत दुई नम्बर प्रदेशबाट २ सिट जित्नेछ।
राजपा र फोरमले एक सिट मात्र दिन सकिने भन्दै एमाले र कांग्रेससँग बार्गेनिङ गरेका थिए। गठबन्धन गरेर चुनाव लड्दा प्रदेश नम्बर २ मा ५ सिट जित्न सकिने राजपा र फोरमको आकलन थियो।
गठबन्धनसँग किन मिलेन कुरा?
मधेसकेन्द्रित दुई दलले वाम गठबन्धनसँग मंगलबार साँझ वार्ताका क्रममा संविधान संशोधन गर्ने प्रतिबद्धता मागेका थिए। मधेसी जनताले संशोधनका लागि म्यान्डेट दिएको भन्दै राजपा र फोरमले सीमांकनसहितको संशोधन गर्ने प्रतिबद्धता जनाए प्रदेश २ मा चुनावी सहकार्य गर्न सकिने प्रस्ताव एमाले र माओवादी समक्ष राखेका थिए।
तर, वाम गठबन्धनका नेताले औचित्य र आवश्यकताका आधारमा मात्र संशोधन गर्न सकिने पुरानै अडान दोहोर्यावएपछि सहमतिको सम्भावना सकिएको थियो। साभारः नेपाललाइभ
Post a Comment