फोरम, राजपा र काँग्रेसबीच चुनावी तालमेल


जनकपुरधाम । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर २ मा मधेशी गठबन्धन र नेपाली काँग्रेस बीच तालमेल भएको छ । संघिय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र काँग्रेस बीच २÷२ वटा सिट लिने गरि सहमति भएको राजपा नेपालका महासचिव मनिष सुमनले जानकारी दिए । काठमाण्डुको बरबरमहल स्थित राजपा नेपालका पार्टी कार्यालयमा मंगलबार भएको तीन वटै दलको नेताहरुको संयुक्त वार्तामा सहमति भएको उनले बताए । संघिय फोरमलाई दलित र महिला कोटा दिने सहमति भएको उनले बताए । त्यसैगरि, राजपाले अल्पसंख्यक वा अपाङग र अन्य एक सिट लिने सहमति भएको छ । बाँकी रहेका सिट नेपाली काँग्रेसले लिने सहमति भएको महासचिव सुमनले बताए । प्रदेश नम्बर २ मा जम्मा ८ वटा सिट रहेको छ । वैठकमा कांग्रेसको तर्फबाट पुर्व गृहमन्त्री बिमलेन्द्र निधि र डा.मिनेन्द्र रिजाल, संघिय फोरमबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र रेणु यादव सहभागि थिए । त्यसैगरि, राजपा नेपालबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा थिए । राष्ट्रिय सभाको निर्वाचनकै विषयमा मधेशी गठबन्धन र वाम गठबन्धन बीच भएको वैठकमा सिटमा कुरा नमिलेपछि सहमति हुन सकेन । मधेशवादी गठबन्धनले ६ सिट माग गरेका थिए । तर वामले ५ वटा मात्र दिने अडान लिएपछि चुनावी तालमेलको प्रयास असफल भएको थियो । सिट बाँडफाँट भएपनि दलहरुले अवेर राती सम्म उम्मेदवारहरुको टुङगो लगाउन सकेका छैनन् । तीन वटै पार्टीका शिर्ष नेताहरु अवेर रातीसम्म उम्मेदवार छनौट गर्न छलफलमा व्यस्त रहेका थिए । श्रोतका अनुसार राजपा नेपालमा आकांक्षी धेरै भएपनि वृषेशचन्द्र लाल र विभा
ठाकुरको नाममा सहमतिको प्रयास भईरहेको छ । त्यस्तै, संघिय फोरम नेपालमा श्रवण अग्रवाल, छाया शर्मा, सिमा सिंह लगायतका सम्भावित
उम्मेदवार रहेको बताईएको छ । त्यसैगरि, काँग्रेसबाट जितेन्द्र देव लगायतका सम्भावित उम्मेदवार रहेको काँग्रेसका एक नेताले बताए ।

No comments

Powered by Blogger.