उपेन्द्र यादव भन्छन्– हिन्दी हाम्रै भाषा हो, बरु नेपाली भाषा भारतबाट आएको हो

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले हिन्दी नेपालकै भाषा भएको दाबी गर्दै हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् ।

यादवले हिन्दी भारतीयहरुको मात्र नभई नेपालका तराईबासीको समेत भाषा भएको तर्क गरे । यादवले बरु अहिले नेपाली भनेर बोलीचालीमा प्रयोग भएको भाषाको जन्म भारतमा भएको जिकिर गरे । नेपाली भाषाको नामांकरण गोरखा राज्य विस्तारपछि मात्र भएको तर्क गर्दै उनले खस्मिरबाट खस, सिञ्जाबाट सिञ्जाली, पर्वतबाट पर्वतीय, गोरखा साम्रज्यको विस्तारपछि गोरखा भाषा हुँदै पनि त्यही भाषालाई नेपाली भन्न थालिएको उल्लेख गरे ।
‘हिन्दी पनि हाम्रै भाषा हो । हामी मधेसकाहरु हिन्दी बोल्छौं । तराई त नेपालमा धेरै पछि आएको हो । नेपालमा आउनुभन्दा पहिलादेखि नै त्यहाँका मानिसले हिन्दी बोल्थे’, यादवले भने, ‘अहिले हामीले नेपाली भनिरहेको भाषा त महाकालीपारी (भारतबाटै) आएको होइन र ? पहिला भारतमा खस्मिर भन्ने थियो । खस्मिरबाट खस भाषा भयो, सिञ्जामा आएर सिञ्जाली भाषा भयो, पर्वतबाट पर्वतीय भाषा भयो, गोरखा साम्रज्यको विस्तारपछि गोरखा भाषा भयो । गोरखा भाषा नै पछि नेपाली भाषा भएको होइन र ? ठेट नेपाली भाषा भनेको त नेपाल भाषा हो । नेवारी समुदायले बोल्ने भाषालाई नेपाल भाषा भनिन्छ ।’
यादवले आजको खुला समाजमा जसले जसको भाषा पनि बोल्न सक्ने भन्दै भाषामा राष्ट्रियता नदेख्न भने । हिन्दी भाषा बोल्दा भारतको प्रभाव बढ्ने भए किन अंग्रेजी भाषाको प्रयोग गरिएको भन्दै प्रश्न उनको थियो । जसलाई हामी अहिले नेपाली भाषा भनिरहेका छौं त्यो पनि भारतीय भाषा हो । भारतको संविधानमा अनुसूचीमा रहेको भाषा हो त्यो । भाषामा संकीर्णता त्याग्नुपर्ने उनलेद बताए । नेपाली र हिन्दी भाषामा धेरै अन्तर नरहेको तर्क गर्दै यादवले दुवै एकै परिवारको भाषा भएको दाबी गरे ।
‘नेपाली र हिन्दी भाषामा धेरै अन्तर नै छैन । उर्दु, नेपाली, हिन्दी, मैथली, नेवारी, तिब्बतीयन भोट बर्मेली भाषा एउटै परिवारका भाषा हुन् । नेपाली, हिन्दी र संस्कृत त एउटै परिवारको भाषा हो’, यादवले भने, ‘अहिले त अंग्रेजी भाषाको जमाना आइसक्यो । आउने पुस्ताले अंग्रेजीमा मात्र आफूलाई अभ्यस्त गराउँछ । हिन्दी पनि खोज्दैन, नेपाली पनि छाडिदिन्छ । त्यसैले हामीले भाषामा संकीर्णता नपालौं भनेको हो ।’
हिन्दीसहित नेपालमा बोलिने सबै भाषालाई कामकाजी भाषा बनाउँदा नेपालको राष्ट्रियता कमजोर नभई थप नेपाली भाषा, संस्कृतिलाई समृद्ध बनाउने तर्क उनले गरे । हिन्दीलाई नेपालमा कामकाजी भाषा बनाउँदा त्यसले भारतमा रोगजारी बढाउने उनको भनाइ छ ।
‘यसबाट नेपालीलाई नै फाइदा छ । अहिले भारतमा करिब ६० लाख नेपालीले काम गरिरहेका छन् । ती ६० लाखले हिन्दी बोलेकै कारण रोजगारी पाएका होइनन् र ? के नोक्सान भयो त भाषा जानेर । अझ बढी रोजगारीको अवसर आउँछ । नेपालमा हिन्दी बोलेर त कसैले रोजगारी पाएको छैन । अनि कसरी हुन्छ नोक्सान ?’

No comments

Powered by Blogger.