प्रदेशको राजधानीबारे अमेरिकी अनुभवः ठूला शहर ‘हानिकारक’
यस्तो छ अमेरिकी राज्यहरुको राजधानी र विकेन्द्रीकरण
अमेरिका आफैंमा देश नभएर महादेश हो । यो झण्डै सिंगो युरोपजत्रै छ । सम्पूर्ण युरोपको क्षेत्रफल १,०१,८०,००० वर्ग किलोमिटर छ भने अमेरिकाको चाहिँ ९८,३३,००० बर्ग किलोमिटर छ । यत्रो ठूलो भूक्षेत्र भएकाले र इतिहासमा भिन्नभिन्न स्वामित्वमा रहेका भूभागहरुको एकीकृत स्वरुप भएकाले, अमेरिका जन्मँदै संघीय संरचनामा जन्मिएको मुलुक हो ।
अमेरिकाको भव्यता र विकासको आधार भनेको समानुपातिक विकासे अवधारणा पनि हो । यत्रो ठूलो भूगोलमा हरेक सानो स्थानीय इकाईसम्म सरकारको उपस्थिति र सरकारी कामको विकेन्द्रित प्रकृति नै यहाँको एकदम उत्कृष्टता पनि हो । धेरै ठूलो देश भएकाले, अमेरिकाका धेरै राज्यहरु ठूला छन् ।
अलास्काको क्षेत्रफल १४,७७,९५३ वर्ग किलोमिटर छ, जुन नेपाल भन्दा झण्डै १० गुणा ठूलो हो । तर, ध्रुबीय प्रदेश भएकाले यहाँ एकदम थोरै जनसंख्या छ । अमेरिकाको मूलभूमिमा टेक्सास सबै भन्दा ठूलो राज्य हो, जसको क्षेत्रफल ६,७६,५८७ वर्ग किलोमिटर छ, जुन नेपालभन्दा झन्डै ४.६ गुणा ठूलो हो ।
यसैगरी ३७ वटा राज्यको क्षेत्रफल १ लाख वर्ग किलोमिटरभन्दा बढी छ । यसबाट नै अञ्दाज हुन्छ, अमेरिकी राज्यहरुको बनावट । यहाँका राज्यहरुको राजधानी कसरी राखिएको छ र सरकारी कार्यालयहरुको व्यपस्थापनको कुरा नेपालका लागि उपयोगी हुन सक्छ ।
राज्य र यसका राजधानीहरुको कुरा गर्दा जनसंख्या मात्र राज्य होइन, भूगोल पनि राज्य हो भन्ने सापेक्षिक अर्थ अमेरिकाको संघीय राज्यहरुको राजधानी हेर्दा महसुस हुन्छ । झण्डै २५० वर्ष अगाडिदेखि राज्यहरु निर्माण सुरु भएको हो । त्योबेला गरिएका निर्णयहरु अहिले पनि उत्तिकै महत्वपूर्ण छन् ।
राज्यको राजधानी निर्धारण गर्दा बढी जनसंख्यालाई आधार मानिएको देखिँदैन । ठूलो भूगोल भएकाले समानुपातिक विकासको सिद्धान्तलाई आधार मानिएको देखिन्छ । सामुद्रिक किनारा छेउमा बढ्दो सहरीकरणले गर्दा टाढा–टाढाबाट बसाइँ सराइ बढ्ने, रोजगारीको समानुपातिक विकास नहुने भएकाले, ठूला सहरहरुमा राजधानी नराखी भूगोलको बीचमा पर्ने गरी र तुलनात्मकरुपमा साना सहरहरुमा राखिएको पाइन्छ ।
ठूला सहरहरुमा यसै पनि प्रशस्त रोजगारीका अवसरहरु छन्, त्यहाँ अझै सुबिधा थप्दा अन्य क्षेत्रबाट बसाइ सराइको चाप बढ्ने र दुरदराजका गाउँहरु रित्तिदै जान्छन् र मानव शून्य अवस्थामा पुग्छन् भनेर यो कुरा विचार गरिएको छ ।
संसारकै ठूलोमध्ये एउटा न्युयोर्क शहर न्युयोर्क राज्यमा पर्छ । तर, न्युयोर्क राज्यको राजधानी न्युयोर्क चाँहि होइन, अल्बानी हो
संसारकै ठूलोमध्ये एउटा न्युयोर्क शहर न्युयोर्क राज्यमा पर्छ । तर, न्युयोर्क राज्यको राजधानी न्युयोर्क चाँहि होइन, अल्बानी हो, जुन न्युयोर्क सहर भन्दा झन्डै ३०० किलोमिटरको दुरीमा छ । वाशिंगटन राज्यको ठूलो सहर सियाटल हो, यहाँ ओलम्पिक खेल पनि भएको हो, तर वाशिंगटनको राजधानी झण्डै १५० किलोमिटर टाढा ओलम्पिया भन्ने ठाउँमा छ । अर्को ठूलो राज्य क्यालिफोर्नियाका ठूलो सहर सान फ्रान्सिस्को र लस एञ्जलस हुन्, तर राजधानी रहेको सहर साक्रामेण्टो सान फ्रान्सिस्कोबाट १५० किलोमिटर र लस एञ्जलसबाट ६४० किलोमीटर टाढा छ ।
कतिपय राज्यका ठूला सहरहरु राज्यको बीचमा परेको अवस्थामा त्यही सहरमा पनि राजधानी राखिएको छ । जस्तै–जर्जियाको एट्लाण्टा ।
तलको चार्टमा केही राज्यको राजधानी र त्यस राज्यको ठूलो सहर अनि तिनीहरुको बीचको दुरी उल्लेख गरिएको छ ।
अमेरिकी राज्यहरूको राजधानी र ठूला सहरवीचको दुरी
राज्य | राजधानी | ठुलो सहर | ठुलो सहर र राजधानीको दुरी |
न्युयोर्क, | अल्बानी, | न्युयोर्क, | सबैभन्दा ठूलो सहर न्युयोर्कबाट ३०० किलोमिटर टाढा |
क्यालिफोर्निया | साक्रामेण्टो | सान फ्रान्सिस्को, लस एञ्जलस | सान फ्रान्सिस्कोबाट 150 किलोमीटर र लस एञ्जलस बाट 640 किलोमीटर टाढा |
वाशिंगटन | ओलम्पिया | सियाटल | 150 कि मि |
अलाबामा | मोन्टगोमरी | बिर्मिङ्घम | 160 कि मि |
अलास्का | जुनु | अङ्ग्कोरेज | 1,400 कि मि |
फ्लोरिडा | तलाहासी | मियामी, ज्यक्सन्भिल | 800 कि मि |
इलिनोइ | स्प्रींगफिल्ड | सिकागो | 350 कि मि |
कन्सास | टोपेका | विचिता | 250 कि मि |
केन्टकी | फ्र्यान्कफर्ट | लुइस्भिल | 100 कि मि |
लुइजियाना | बार्टोन रग | न्यु ओर्लियन्स | 140 कि मि |
मेइन | अगस्टा | पोर्टलेण्ड | 100 कि मि |
मेरिलेण्ड | अन्नापोलिस | बाल्टिमोर | 55 कि मि |
मिनेसोटा | सेन्ट पल | मिनियापोलिस | 35 कि मि |
मिजौरी | जेफर्सन सिटि | कन्स्यास सिटि | 275 कि मि |
मोण्टाना | हेलेना | बिल्लिङ्ग्स | 400 कि मि |
नेब्रास्का | लिंकन | ओमाहा | 100 कि मि |
न्यु ह्याम्प्शायर | कोङ्कर्ड | म्यानचेस्टर | 45 कि मि |
न्यु जर्जि | ट्रेण्टन | न्युअर्क | 100 कि मि |
नर्थ क्यारोलिना | रयाले | सार्लोट | 275 कि मि |
नर्थ डकोटा | विस्मार्क | फार्गो | 325 कि मि |
ओहायो | कोलम्बस | सिन्सिनाती, क्लिभ्लेण्ड | 200 कि मि |
ओरेगन | सलेम | पोर्टलेण्ड | 100 कि मि |
पेन्सिलभेनिया | ह्यारिस्बर्ग | फिलाडेल्फ़िया | 180 कि मि |
साउथ क्यारोलिना | कोलम्बिया | चार्ल्स्टन | 200 कि मि |
साउथ डकोटा | पियरि | सिउक्स फ्लक्स | 375 कि मि |
टेक्सस | अस्टिन | ह्युस्टन | 275 कि मि |
भर्मोण्ट | मोन्टपेलियर | बर्लिङ्गटन | 70 कि मि |
भर्जिनिया | रिचमण्ड | नोर्फोक | 160 कि मि , उत्तरी भर्जिनिया मा बाक्लो बस्ति छ, त्यहाँ बाट पनि उस्तै दुरी पर्छ |
वाशिंटन | ओलिम्पिया | सियाटल | 150 कि मि |
वेस्ट भर्जिनिया | चार्ल्स्टन | हन्टिंगटन | 90 कि मि |
विस्कनसिन | म्याडिसन | मिल्वाकी | 150 कि मि |
मान्छे जहिले पनि सम्भावना र अवसरको खोजीमा रहिरहने हुनाले बसाइँ सराइ जहिले पनि भइरहन्छ । अवसर सबैतिर प्राप्त हुने स्थितिमा जाने र आउने क्रम उस्तै हुनाले जनसांख्यिक असर कम पर्छ । तर, सबै अवसर एकै ठाउँमा थुपार्ने हो भने समयको अन्तरमा गाउँहरु झन् निर्जन हुँदै दुरदराज मान्छेबिनाको ‘भुत गाउँ’ हुने खतरा हुन्छ ।
सुविधाको विकेन्द्रीकरण
अर्को अचम्मको कुरा के छ भने राजधानी भनेर राख्दा सबै कुरा केन्द्रीकृत हुन्छ भनेर कतिपय राज्यस्तरीय कार्यालयहरु विभिन्न ठाउँहरुमा राखिएको हुन्छ । राजधानी भएको ठाउँमा संसद चाहिँ हुन्छ, तर राज्यस्तरीय अदालत र अन्य राज्यस्तरीय कार्यालय चाहिँ हुन्छन् भन्ने छैन । जस्तै–क्यालिफोर्नियाको राजधानी साक्रामेण्टो हो तर, उच्चअदालत १५० किलोमीटर टाढा सान फ्रान्सिस्कोमा छ । केन्द्रीय मन्त्रालय र विभागका कार्यालयहरु राज्यभरिका विभिन्न सहरहरुमा आवश्यकताअनुसार छरिएका छन् ।
सबै अवसर एकै ठाउँमा थुपार्ने हो भने समयको अन्तरमा गाउँहरु झन् निर्जन हुँदै दुरदराज मान्छेबिनाको ‘भुत गाउँ’ हुने खतरा हुन्छ
राज्यस्तरीय कार्यालयहरु सिधै जनसम्पर्कका कार्यालयहरु हुँदैनन् सामान्यतया । तर, पनि त्यहाँ हुने रोजगारीले त्यस स्थानको आर्थिक चक्रमा प्रभाब पारेको हुन्छ । अमेरिकामा कुनै पनि राज्यको राजधानी यस्तो छैन, जहाँ सबै राज्यस्तरीय कार्यालयहरु एकै ठाउँमा होउन् । राज्यभित्र पनि हरेक कुराहरुलाई समानुपातिक तरिकाले छरेर राखिएको छ । कर्मचारीहरुको बसाइले त्यस ठाउँको आर्थिक प्रणाली असर पर्ने हुनाले सकेसम्म छरिएको हुन्छ ।
जनसम्पर्कका कार्यालयहरु पनि सामान्यतया सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि ५ बजेसम्म दैनिक ९ घण्टा र शनिबार ८ बजेदेखि दिउँसो १२ बजेसम्म ४ घण्टा गरेर साप्ताहिक ४९ घण्टा सेवा दिन्छन् । कर्मचारीको त्यहीअनुरुप रोटेसन मिलाइएको हुन्छ । त्यो समयको फ्रेममा जुनसुकैबेला पनि सेवा उपलब्ध हुन्छ । सेवा दिने कर्मचारी बाहिर निस्कँदा सट्टामा काम गर्ने अर्को कर्मचारी अघि आइसकेको हुन्छ । धेरैजसो काम त अनलाइनमै गर्ने भएको हुनाले अहिले झन सजिलो नै छ ।
केन्द्रीय सरकारको कामको विकेन्द्रीकरण
सबैलाई लाग्न सक्छ, अमेरिकाको राजधानी वाशिंगटन डीसी भएकाले केन्द्रीय सरकारका काम त्यही मात्र हुन्छन । तर, यो सत्य होइन । उदाहरणका लागि, अमेरिकामा पासपोर्ट बनाउन, निवेदन बुझ्नका लागि हुलाकमा बुझ्ने व्यवस्था गरिएको हुन्छ । सबैले बुझाउने स्थानीय हुलाकमा नै हो ।
पासपोर्ट इस्यु गर्ने सेन्टरहरु वाशिंगटन डीसीमा छैनन् । देशभरि २७ ठाउँबाट मात्रै पासपोर्टको काम हरु हुन्छ । अनि केन्टकी र न्यु ह्याम्प्सायर दुृई ठाउँमा भिसाको काम हुन्छ, जुन राजधानीभन्दा हजारौं किलोमिटर टाढा छन् ।
अमेरिकामा कुनै पनि राज्यको राजधानी यस्तो छैन, जहाँ सबै राज्यस्तरीय कार्यालयहरु एकै ठाउँमा होउन् । राज्यभित्र पनि हरेक कुराहरुलाई समानुपातिक तरिकाले छरेर राखिएको छ
अमेरिकाका लागि बुझाइएका सबै भिसा को फारम त्यसको प्रकृति हेरी या त केण्टुकी पुग्छ, या न्यु ह्याम्प्सायर पुग्छ । केण्टुकी र न्यु हम्प्सायरका ती ठाउँहरुले प्रत्यक्ष र अप्रत्यक्षरुपमा आर्थिक लाभ लिएका छन् ।
त्यस्तै अमेरिकाका क्यालिफोर्निया, नेब्रास्का, टेक्सास, भर्मण्ट र भजिनियामा नागरिकता र आप्रवासनसम्बन्धी काम गर्नका लागि ५ ठाउँमा सर्भिस सेन्टरहरु छन् । यी कुनै ठाउँमा पनि आफू जान पर्दैन, सबैमा अनलाइन अथवा हुलाकबाट बुझाउनुपर्छ ।
विश्वविद्यालयहरु
राज्य सरकारले स्वास्थ्य सेवा र उच्च शिक्षामा उच्च लगानी गरेको छ । विश्वविद्यालयहरु पूर्ण सरकारी हुँदैनन् । स्टेट युनिभर्सिटीहरुमा राज्यको लगानी हुन्छ र बोलीचालीको भाषामा सरकारी विश्वविद्यालय भनेर बुझिन्छ । तर, नेपालको जस्तो पूर्ण सरकारी चाहिँ हुँदैनन् । विश्वविद्यालयले केही निश्चित अनुदान मात्र पाउने हो ।
अमेरिकामा पासपोर्ट बनाउन, निवेदन बुझ्नका लागि हुलाकमा बुझ्ने व्यवस्था गरिएको हुन्छ । सबैले बुझाउने स्थानीय हुलाकमा नै हो
धेरैजसो विश्वविद्यालयहरु ठूला शहरभन्दा बाहिर छरिएका हुन्छन् । ती विश्वविद्यालयको शिक्षक, विद्यार्थी, कर्मचारी र अन्य सरोकारवालाको कारणले त्यहाँ सानो सहर नै निर्माण भएको हुन्छ । बोलीचालीको भाषामा त्यस्तो ठाउँलाई युनिभर्सिटी सीटी भनिन्छ । यसले गर्दा धेरै पर कुनै गाउँमा सहरीकरण भएको हुन्छ, अवसर पुगेको हुन्छ, सहर को भिड र कोलाहल पनि कम भएको हुन्छ ।
अमेरिकाका धेरै विश्वविद्यालयको ठेगाना हेर्नुस् तीमध्ये धेरैजसो चाहिँ केन्द्रीय राजधानी, राज्यको राजधानी अथवा नाम चलेका ठूला सहर मा नभएर धेरै पर, सानो ठाउँमा छन् ।
Post a Comment