जाडो विदा अगावै विद्यालयहरु बन्द
जनकपुरधाम । तराईमा बढदो चिसोको कारण सामुदायिक विद्यालयहरु बन्द भएका छन् । जस्ताको छाना, झ्याल ढोकाहरुको अभाव रहेको सामुदायिक विद्यालयहरुमा चिसोको कारण विद्यार्थीहरुको उपस्थिति कम हुन थालेको थियो । तर निजी विद्यालयहरु चालु छन् । दिन रात नै चिसो हावा चलिरहेको कारण तापक्रम घटेको छ ।
एकनासले २४ घण्टा नै चिसो हावा चलिरहेको कारण मध्य तराईको तापक्रम घटेको छ । रातदिन एकै नास जस्तो तापक्रम रहने गरेको कारण अत्यधिक जाडो बढेको छ । तराईमा सरदर न्यून्तम तापक्रम ८ दसमलव ८ डिग्री सेल्सियस र अधिकतम् तापक्रम १२ दसमलव ६ डिग्री सेल्सियस रहेको देखिन्छ । कठ्याग्रिदो जाडोको कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थीको उपस्थिति न्युन हुन थालेपछि विदा दिईएको छ ।
सामुदायिक विद्यालयहरुमा झ्याल ढोकाको कमि र जस्ताको छानाको कारण बढि नै चिसो हुने गरेको विद्यार्थीहरु बताउँछन् ।रातभरि छानामा परेको सितले बिहान कोठाहरुमा अत्यधिक चिसो लाग्दा छात्रछात्राहरुले जाडो लाग्न थालेपछि विदा दिएको बताए ।महोत्तरी जिल्लाको दुर्गा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत्त छात्र जितेन्द्र कुमार महतोले माथिल्लो कक्षा भन्दा तल्लो कक्षाका विद्यार्थीहरुमा बढी जाडो लाग्ने गरेको बताए ।
‘साना बालबालिकाहरु पढने कोठामा त झ्याल, ढोका केहि छैन्’ उनले भने, ‘ जाडो बढेपछि विद्यार्थीहरुको संख्या एक दम पातलिएको थियो ।’
तराईमा पुस र माघ महिनामा सर्वाधिक जाडो हुने गरेको छ । खासगरि मध्य पुसदेखि मध्य माघ सम्मको कठ्याँग्रिदो चिसोमा बालबालिकाहरुलाई जोगाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।
चिसो अत्यधिक बढेको कारण विद्यालयहरुमा जाडो विदा दिईएको छ । प्रदेश नम्बर २ का जिल्लाहरुमा सामुदायिक विद्यालयहरुमा दिईएको विदामा एकरुपता देखिएको छैन् । जिल्लाहरुमा ३ दिन देखि दुई हप्ता सम्म विद्यालयहरु बन्द गरिएका छन् । जाडो विदा भन्दा अगावै चिसो बढेकोले केहि पहिले नै विदा दिईएको जिल्ला शिक्षा अधिकारीहरुले जनाएका छन् । अगावै दिईएको विदालाई जाडो विदामा समायोजन गर्ने धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले जनाए ।
‘जाडो विदा भन्दा केहि दिन अगावै विद्यालय बन्द भएको छ ’उनले भने, ‘ नियमित जाडो विदामा हालको विदा समायोजन गरिनेछ ।’
सामुदायिक विद्यालयहरु बन्द भएपनि निजी विद्यालयहरुमा पठनपाठन बन्द भएको छैन् । तर शिक्षा अधिकारी खड्काले निजी विद्यालयहरुलाई पनि बन्द गर्न आग्रह गरिएको बताए ।
Post a Comment