प्रेस रिभ्यूः भान्सामा सिलिन्डर बमदेखि गगनलाई संसदीय दलको नेता बनाउन मागसम्म
६ पुस, काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा
फरक–फरक समाचार परेका छन् । वीरगञ्जको ग्यास उद्योगमा भएको आगलागीबारे समाचार लेख्दै
पत्रपत्रिकाहरुले यसका भित्रि कारणहरु खोतल्ने प्रयास आज गरेका छन् ।
राष्ट्रियसभा गठबसम्बन्धी अध्यादेशमा देखिएको विवाद अझै सुल्झन सकिरहेको छैन ।
पत्रपत्रिकाहरुले आज पनि यो विषयलाई समाचार बनाएर छापेका छन् । पत्रपत्रिकाहरुले
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर विवाद बढ्दै गएपछि राष्ट्रपति समाधान निकाल्न
सक्रिय बनेको लेखेका छन् । यसका अलावा पत्रपत्रिकाहरुले नेपालमा अझै २९ प्रतिशत
गरिब रहेको, नेपाल प्रहरीका पूर्वडीआईजी तथा प्रतिनिधिसभा सांसद् नवराज सिलवाल कीर्तेमा
तानिएको समाचार लेखेका छन् ।
भान्सामा सिलिण्डर बम !
कान्तिपुर दैनिकले वीरगञ्जको सुपर ग्यास उद्योगमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको
प्रसंग जोड्दै घरघरमा जोखिमयुक्त ग्यास सिलिण्डरहरु रहेको समाचार छापेको छ ।
‘ग्यास कि सिलिण्डर बम ?’ शीषकको समाचारमा ग्यास परीक्षणसमेत नगरी रिफिलिङ मात्र
गरेर घरघरमा सिलिन्डर बम पुर्याउने काम भएको उल्लेख छ ।
नेपालमा रहेका ५५ ग्यास उद्योगमध्ये ९० प्रतिशतले मापदण्ड पूरा नगरेको अनुगमनको
क्रममा पाइएको जानकारी दिँदै गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भनेका छन्,
‘उद्योगहरु भगवान भरोसामा चलेका छन् ।’
सिलिण्डर फुट्ने र ग्यास चुहिएर आगो लाग्ने जस्ता घटना पटक–पटक दोहोरिए पनि
उद्योगहरुको अनुगमनमा सरकारी निकाय उदासीन छन् । अनुगमन नहुँदा व्यवसायीको लापरवाही
झन् चरम भएको छ ।
गगन थापा कांग्रेस संसदीय दलको नेता !
कान्तिपुरको भित्री पृष्ठमा कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न
अभियान नै चलाउन लागेको समाचार छ ।
कांग्रेसका युवा नेताहरुले बुधबार राजधानीमा बैठक नै गरेर यस्तो अभियान चलाउने घोषणा गरेका
हुन् । उनीहरुले युवा नेता गगन थापालाई संसदीय दलको नेता बनाउन पनि जोड दिएको समाचारमा
उल्लेख छ ।
केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा बसेको बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ,
बद्रि पाण्डे, गुरु घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि
खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराल लगायत सहभागी थिए ।
नेता भण्डारीले पार्टीमा आमुल सुधारका लागि विचारसहितको कार्यक्रम लिएर युवाहरु अघि
बढ्ने उद्देश्यसहित छलफल थालिएको बताएका छन् ।
सेनाले ३ अर्बमा थप दुई हेलिकोप्टर किन्दै
नागरिक दैनिकले साढे ३ अर्बमा दुईवटा हेलिकोप्टर नेपाली सेनाले किन्न लागेको समाचारलाई
मुख्य समाचार बनाएर छापेको छ । अर्थ मन्त्रालयले एउटा हेलिकोप्टर र दुईवटा जहाज खरिद गर्न
रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै सेनाले थप दुई एमआई–१७ भी–५ हेलिकोप्टर
रुसको कजान हेलिकोप्टरले उत्पादन गर्ने एमआई–१७ भी–५ हेलिकोप्टर खरिद गर्न सेनाले
रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । ‘मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि
रुसको सरकारी स्वामित्वको रोसोबोरोनेक्सपोर्टसँग दुईवटा एमआई–१७ भी–५ हेलिकोप्टर खरिद
सम्झौता हुन्छ,’ जंगी अड्डा स्रोतलाई उद्धृत गर्दै नागरिकले लेखेको छ ।
‘म समानुपातिकमा पर्छु त ?’
आफू समानुपातिक सांसदको कोटाभित्र पर्छुकी पर्दैन भनेर सोध्न निर्वाचन आयोगको केन्द्रीय
कार्यालयमा उम्मेदवारहरु धाउने गरेको समाचारलाई नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएअनुसार बिभिन्न दलका समानुपातिकतर्फका ९ जना उम्मेदवार सोमबार
निर्वाचन आयोगमा पुगे । उनीहरुले आयोगका कर्मचारीहरुसँग समानुपातिकमा म पर्छुकी पर्दिनँ ?
महिला नै चाहिने हो र ? क्रमसंख्या तलमाथि गर्न पाइन्छ कि पाइँदैन ? भन्ने जस्ता जिज्ञासा राखे ।
आयोगको समानुपातिक एकाइका कर्मचारीका अनुसार यसरी सोध्नेमध्ये धेरैजसो पुरुष थिए ।
कानुनअनुसार क्रमसंख्या र क्लस्टर मिच्न नपाइने जवाफ दिएर पठाउने गरेको उनले बताए ।
प्रदेश ६ मा आधाभन्दा धेरै गरिब
प्रदेश नं. ६ मा सबैभन्दा धेरै गरिबी रहेको पाइएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको
अक्सफोर्ड गरिबी तथा मानव विकास पहल (ओपीएचआई) सँगको सहकार्यमा राष्ट्रिय योजना
आयोगले प्रकाशित गरेको नेपाल एमपिआई प्रतिवेदनमा सयमा २९ नेपाली गरिबीको रेखामुनि रहेको
र ६ नम्बर प्रदेश सबैभन्दा गरिब रहेको उल्लेख छ ।
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा देखिएको विवाद हल गर्न राष्ट्रपतिले थालेको छलफललाई
मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले ६ नं. प्रदेशमा आधाभन्दा धेरै अर्थात् ५१.२ प्रतिशत
जनसंख्या गरिब रहेको लेखेको छ । समाचार अनुसार यहाँ चरम गरिबी २३ प्रतिशत छ ।
प्रधानमन्त्रीको निष्कर्षः संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन
राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश विवाद सुल्झ्याउन राष्ट्रपतिले सक्रियता बढाइरहेका बेला
प्रधानमन्त्री शेरबहादुर देउवा भने यसबारे छलफल नगर्ने निष्कर्षमा पुगेका छन् । अध्यादेशमा
संवैधानिक अड्चन नरहेको जिकिरसहित प्रधानमन्त्री थप छलफल नगर्ने मुडमा पुगेका हुन् ।
नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरुसँग् कुनै
छलफल नगरेको र आगामी दिनमा पनि नगर्ने समाचार आज छापेको छ ।
‘अध्यादेशमा संवैधानिक र कानूनी अड्चन नभएकाले दलीय छलफल आवश्यक नभएको प्रधानमन्त्रीको
बुझाइ छ’ नयाँ पत्रिका दैनिकले समाचारमा लेखेको छ ।
स्थानीय जनप्रतिनिधि कामविहीन
निर्वाचन भएको सात महिना बितिसक्दासमेत स्थानीय जनप्रतिनिधि कामविहीन छन् ।
प्रदेश कानुनबमोजिम स्थानीय तह सञ्चालनसम्बन्धी कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्थाका
कारण स्थानीय तहका जनप्रतिनिधिले अपेक्षाकृत काम गर्न सकेका छैनन् ।
प्रतिनिधिसभा निर्वाचनअघिको व्यवस्थापिका संसदले स्थानीय सरकार सञ्चालन ऐन बनाए पनि ऐन
कार्यान्वयनको चरणमा जान नसकेको नयाँ पत्रिका दैनिकको समाचारमा उल्लेख छ ।
सात सय ५३ स्थानीय तहले जनप्रतिनिधि पाएको महिनौं बितिसक्दासमेत कर्मचारी र कार्यालयकै
अभाव छ । जनप्रतिनिधिको पारिश्रमिक, सेवा–सुविधासम्बन्धी ऐनसमेत बन्न सकेको छैन ।
दूधबाटै मासिक १ करोड आम्दानी
देशभित्रै अथाह सम्भावना भए पनि रोजगारीको खोजीमा स्वदेशदेखि विदेशसम्म भौतारिनेको संख्या
यहाँ सानो छैन । युवाहरु रोजगारीका लागि भौतारिरहेका बेला सिन्धुलीका कृषकले भने दूध बेचेरै मासिक
१ करोड आम्दानी गर्दै आइरहेका छन् ।
जिल्लामा दूधको खपत बढ्दै गएपछि किसान ठूलो रकम आम्दानी गर्न सफल भएको समाचारलाई आज
कारोबार भित्रि पृष्ठमा छापेको छ ।
समाचार अनुसार सिन्धुलीमा उत्पादित दैनिक ५ हजार लिटर दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ ।
Post a Comment