सिंहदरबारबाट संसद् सचिवालय ट्रलीबसको कार्यालयमा सार्ने तयारी
३ पुस, काठमाडौं । मुलुकको केन्द्रीय सचिवालय सिंहदरबारभित्र अब कार्यपालिका मात्रै रहने हो ? संसद् सचिवालयसमेत बानेश्वरतिरै सार्ने तयारीले मूर्त रुप लिएमा अब सिंहदरबारभित्र सरकारका मन्त्रालयहरुमात्र रहनेछन् ।
राज्यका तीन अंगमध्ये न्यायपालिका (सर्वोच्च अदालत) सिंहदरबार कम्पाउण्डभन्दा बाहिर छ । अब संसद् पनि पूर्णरुपमा सिंहदरबारबाट बाहिर जाने तयारीमा छ । संविधानसभा निर्वाचनदेखि नै संसद् भवन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनिसकेको छ ।
संसद् बानेश्वरमा भए पनि संसद् सचिवालय सिंहदरबारमै छ । अब सचिवालयसमेत बानेश्वरको सम्मेलन केन्द्र परिसरभित्रै वा त्यसनजिकै ट्रलीबस राखिएको यातायातको भवनमा सार्ने प्रस्ताव सरकारसमक्ष पुगिसकेको छ । यद्यपि, यसको निर्णय हुन सकेको छैन ।
सम्मेलन केन्द्र परिसरमा रहेका लगानी बोर्ड, सहश्राब्दी विकास लक्ष्य आयोजना र नेपाल कानुन अयोगका कार्यालय सार्नका लागि संसद् सचिवालयले सरकारलाई आग्रह गरेको छ । तर सरकारले लगानी बोर्ड सहश्राब्दी लक्ष्यको कार्यालय सिंहदरबारमा सारे पनि कानुन आयोगको कार्यालय भने सोही ठाउँमा राख्ने प्रष्ट पारेको छ ।
संसद् सचिवालयले सम्मेलन केन्द्रसँगै सडकपारी रहेको यातायात कार्यालयमा सचिवालय राखेर आकाशेपुलले जोड्ने प्रस्ताव समेत मन्त्रिपरिषदमा पठाइसकेको छ । तर अहिलेसम्म यी कुनै पनि प्रस्तावमा निर्णय हुन सकेको छैन । तर अब संसद् सचिवालय सिंहदरबारबाट स्थायीरुपमै बाहिरिने भने निश्चित भएको छ ।
संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले भने- अब संसद् सचिवालय सिंहदरबारमा रहने र संसद् भवन बानेश्वरमा रहने कुरा व्यवहारिक हुन्न । त्यसैले हामीले स्थायीरुपमै उतै सर्ने तयारी गरेका हौं । सरकारले कि त हामीलाई भवन दिनुपर्यो होइन भने नयाँ भवन बनाउन जग्गा र बजेट दिनुपर्यो ।
सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नै मन्त्रिपरिषद् निर्णयबाट संसद् सचिवालयलाई हस्तान्तरण गरिदिए धेरै समस्या हल हुने सचिवालयका अधिकारीहरु बताउँछन् । अहिले सम्मेलन केन्द्र गठन आदेशअन्तर्गत विकास समितिका रुपमा सञ्चालित छ ।
सम्मेलन केन्द्र संसद् सचिवालयले भाडामा प्रयोग गरिरहेको छ । सरकारले यो भवन किनेर सचिवालयलाई दिन वा सचिवालयलाई बजेट दिएर किन्नका लागि कानुनी बाटो फुकाइदिन सक्छ ।
प्रतिनिधिसभाको बैठक हल तयार
दुईवटा संविधानसभाको ८ वर्षे कार्यकाल पूरा गरेका अन्तर्राष्ट्रिय सम्मेलन कक्षमा अब प्रतिनिधिसभा बैठक सन्चालन हुनेछ । यसअघि ६०१ सभासदहरु बस्ने यो हलमा अब २७५ सांसदमात्र हुनेछन् । संसद सचिवालयले सोहीअनुसार ठूलो हललाई केही सानो बनाउने तयारी गरिरहेको छ ।
सचिवालयका अनुसार कुनै बेला प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्नुपर्ने भएकाले थप ६० जना अट्ने ठाउँ र कुर्सी राखेर मुख्य बैठक हललाई व्यवस्थापन गरिनेछ । यसका लागि कुर्सीहरुको व्यवस्थापन शुरु भइसकेको छ ।
राष्ट्रियसभा नुप्से हलमा
अब संघीय संसद दुई सदनात्मक हुँदैछ । प्रतिनिधिसभाको बैठक यसअघि संविधानसभा र व्यवस्थापिका संसद बैठक हुने गरेको हलमै हुने भएपछि राष्ट्रिसभा बैठकका लागि नयाँ हलको व्यवस्था गरिएको छ । राष्ट्रिसभाका लागि सम्मेलन केन्द्रको नुप्से हल खाली गरिएको छ ।
नुप्से हलमा ७० वटा कुर्सीसहित राष्ट्रियसभा अध्यक्ष बस्ने र बैठक सन्चालन गर्ने रोष्टम सहितको आसन तयारी हुँदैछ । राष्ट्रियसभा ५९ सदस्यीय हुने भए पनि मन्त्रीहरु समेत जाने भएकाले थप ११ कुर्सी राख्न लागिएको सचिवालयले जनाएको छ ।
सचिवालयले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षका लागि कार्यालयको समेत व्यवस्थापन गर्नुपर्ने भएको छ । अध्यक्षको लागि हाल उपसभामुख बस्ने गरेको सिंहदरबारको काठेघरमा कार्यालय व्यवस्थापन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
त्यसो हुँदा उपाध्यक्ष र उपसभामुखका लागि सचिवालयले अलग्गै कार्यालय खोज्नुपर्नेछ ।
Post a Comment