टुंगियो धरहराको विवादः पुनर्निर्माण प्राधिकरणलाई नै बनाउन स्वीकृति
ठूटोलाई जस्ताको तस्तै राखेर अगाडिपट्टि संरचना ठड्याइने

टेलिकमले धरहरा क्षेत्रभित्रै व्यावसायिक स्टल नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निकायमार्फत् नै बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।
मन्त्रिपरिषद्ले आफ्नो प्रस्ताव बमोजिमकै निर्णय गरेर पठाएकाले अब ढिला नगरी निर्माण प्रक्रिया अगाडि बढाउने प्राधिकरणले बताएको छ ।
मन्त्रिपरिषद्ले निर्णय परिवर्तन गरेकाले अब प्राधिकरणले नै निर्माणको नेतृत्व गर्ने प्रवक्ता यमलाल भुसालले बताए । ‘मन्त्रिपरिषद्बाट निर्णय भएर आएको छ । डिजाइन मात्रै फाइनल गर्न बाँकी छ,’ भुसालले भने ।
१२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा ढलेको उक्त ऐतिहासिक सम्पदाको पुनर्निर्माण अझै शुरु हुन सकेको छैन । शुरुमा जिम्मा पाएको टेलिकमले लगानी सुरक्षण नहुने देखेपछि औपचारिक रुपमै हात झिक्न चाहेको थियो ।
‘हामीसँग दुई वटा डिजाइन छन् । एउटा टेलिकमले बनाएको हो भने अर्को पुरातत्व विभागले,’ प्रवक्ता भुसालले भने, ‘अब सम्बन्धित निकाय र विज्ञको राय लिएर फाइनल गराउँछौं ।’
धरहरा क्षेत्रभित्रै व्यावसायिक मलसहितको संरचना बनाउन पाए निर्माणमा अगाडि बढ्न सकिने टेलिकमको अडानले प्रक्रिया विवादित बनेको थियो । तर, पुरातात्विक क्षेत्रमा त्यसो गर्न दिने पक्षमा पुरातत्व विभाग उभिएपछि प्राधिकरणले हस्तक्षेप गरेर आफैंले निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।
निर्माणबाट हात झिके पनि टेलिकमले एक अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता भने कायमै रहेको जनाएको छ ।
सरकारी डिजाइनअनुसार धरहरा निर्माण गर्दा चार अर्ब रुपैयाँ खर्चिनु पर्नेछ । टेलिकमले भने धरहरा क्षेत्रभित्र व्यावसायिक मलसहित सात अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको थियो ।
स्मारकसहित धरहरालाई आकर्षक पार्कका रुपमा विकास गर्ने पुरातत्व विभागको योजना छ । भाँचिएको धरहराको ठूटोलाई जस्ताको तस्तै संरक्षण गर्ने र त्यसकै अगाडि नयाँ ठड्याउने गरी विभागले डिजाइन तयार छ ।
यसअघि ‘मेरो धरहरा म आफैं बनाउँछु’ अभियानमार्फत् करिब १० करोड रुपैयाँ संकलन भएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायत सुविधा उपलब्ध हुनेछन् ।
बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २१ तलाको हुनेछ । साथै, भर्याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ ।
आकस्मिक अवस्थाका लागि भर्याङको पनि व्यवस्था गरिनेछ । साथै, दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ, जहाँबाट लिफ्ट चढेर टुप्पोमा पुग्न सकिनेछ ।
Post a Comment