राजेन्द्र महतोको टिप्पणी सुनेपछि मुसुक्क हाँसे भारतीय राजदूत पुरी
काठमाडौं– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल–भारत सम्बन्ध विशिष्ट भएकोले आगामी दिनमा भारतले नेपाललाई विशिष्ट सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । आज राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘हामीबीच द्धिपक्षीय सम्बन्ध जसरी बिशिष्ट छ, त्यसैगरि भारतले आगामी दिनमा सहयोग पनि विशिष्ट गर्नुपर्छ ।’ कार्यक्रममा सँगै रहेका राजदुत पुरीतर्फ हेर्दै उनले यस्तो बताएपछि राजदुत मुसुक्क हाँसेका थिए ।
नेपाल र भारतबीच अति नै विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै महतोले भने,‘दुई देशवीच सम्बन्ध बन्नुभन्दा अघिनै जनता जनताबीच सम्बन्ध थियो, त्यसैले हामीबीच प्राकृतिक सम्बन्ध छ, नेपाल–भारत सम्बन्ध सिंहदरबार र दिल्ली दरबारबाट बनाइएको होइन, त्यसैले हामीबीच जति राम्रो सम्बन्ध भयो, त्यति नै नेपालको प्रगति हुन्छ, विकासमा टेवा मिल्छ ।’
द्धिपक्षीय सम्बन्धमा धेरै समानताहरु रहेको बताउँदै उनले भने,‘शासन प्रणालीमा हामीबीच समानता छन्, तर विकासमा समानता छैन, भारत विकासमा उच्च गतिमा अघि बढेको छ, त्यसैले नेपालमा देखिएका सबैखाले समस्याहरुलाई हल गर्नुपर्छ, अधिकारको सवाल जो छ, संविधानका सवालहरु सल्टाउनुपर्छ ।’ द्धिपक्षीय सम्बन्ध अति नै प्रगाढ भएको उल्लेख गर्दै महतोले भने,‘नेपाल–भारतबीच जति राम्रो सम्बन्ध हुन्छ, उतिनै राम्रो विकास हुन्छ ।’
भारतसँगजस्तो नेपालको अरु राष्ट्रहरुसँग सम्बन्ध नभएको बताउँदै उनले भने,‘भारत र नेपालबीच विशिष्ट सम्बन्ध छ, विकासमा मामिलामा पनि विशष्ट हुनुपर्यो ।’ नेपालमा विकासको कुरा गर्दा खोक्ला राष्ट्रवाद बाधक बन्ने गरेको उनको गुनासो थियो । उनले थपे,‘यसले त सम्बन्ध बिगार्छ नि, असली राष्ट्रवाद बरु राम्रो छ, त्यतातर्फ हामीले माहोल र वातावरण बनाउनुपर्छ ।’
कार्यक्रममा एमाले नेता प्रदिप ज्ञवाली, कांग्रेस नेता प्रकाशशरण महत, परराष्ट्रविद लोकराज बराल लगायतले बोलेका थिए ।
Post a Comment