‘साथीहरु डोको छोडेर भाग्थे, म समातिन्थेँ’

मिलन अमात्य
सानो छँदा पढ्नभन्दा धेरै खेल्नमै रमाउथेँ । होमवर्क गर्न साह्रै अल्छी लाग्थ्यो । होमवर्क नगर्दा कहिलेकाहीँ कान समातेर कक्षा कोठाबाट बाहिरिनु पनि पथ्र्यो । म त्यतिबेलै गीत-संगीतमा पनि सक्रिय भएकाले सरहरुले अली बढी माया गर्नुहुन्थ्यो ।
मलाई बाबाले संगीत सिकाउनु हुन्थ्यो, त्यसकारण म आमाभन्दा बाबासँगै बढी नजिक थिएँ । खाने-लाउने कुरामा खासै दुःख भएन । म फूलैफूल भएको फ्रक मन पराउथेँ रे । बाबाले ठूल्ठूला फूलको बुट्टा भएको घाँघर ल्याइदिनुहुन्थ्यो । बहिनी जुलनसँग मेरो धेरै उमेर अन्तर छैन । हाम्रो त्यति झगडा परेन ।
मलाई गहिरो पोखरीमा डुबेर नुहाउन मन पर्थ्यो । घर नजिकै खोला थियो । हामी खोलामा नुहाउन जान्थ्यौं । आँखा रातो हुँदासम्म पानीमा खेलेर बिताउथ्यौँ । त्यसवापत गाली पनि खाइन्थ्यो । हामी नुहाउन जाँदा माछा पनि मार्थ्याैं । सलले माछा मार्दा निकै मज्जा आउथ्यो ।
म रुख चढ्न खप्पिस थिएँ । अम्बा पाकेको बेलामा म टुप्पा-टुप्पामा पुगेर अम्बा टिप्थेँ । अहिले चाहीँ रुख चढ्न डर लाग्छ ।
मेरो फुपुको घर नजिकै ठूलो भोगटेको रुख थियो । फुपुहरुले पकाउन भनेर नटिपी राख्नुहुन्थ्यो । हामीलाई चाहिँ नपाक्दै खान मन लाग्थ्यो । हामी खेतखेतै भोगटे चोर्न जान्थ्यौं । म रुखमा चढेर टिप्थेँ, साथीहरु तल बसेर डोको थाप्थे ।
दुई-तीन दाना टिप्दा रुख हल्लिन्थ्यो । अनि फुपूहरुले थाहा पाउनुहुन्थ्यो । गाली गर्दै दौडेर आउनुहुन्थ्यो । डोको थाप्ने साथीहरु डोको छोडेर भाग्थे, म चाहिँ रुखबाट झर्दाझर्दै समातिन्थेँ । अनि सजायँ मैले मात्रै भोग्नुपर्थ्यो । त्यसरी चोर्न जानेहरुमा मेरो बहिनी जुलन, साथीहरु रमा, गोमा, दीपा र विना हुन्थ्यौं । सबै हामी नातेदार थियौं ।
सानो बेलामा मलाई एकपटक मलेरिया भएको थियो । मरेर बाँचेकी थिएँ । घरबाट अस्पताल पुग्न तीन घण्टा लाग्थ्यो । मलाई स्लाइन चढाउँदै अस्पताल लगेको याद छ । एक हप्ताभन्दा बढी अस्पताल भर्ना भएकी छु ।
मलाई सानो बेलामा धेरै सेलिब्रेटीको नाम थाहा थिएन । मेरो हजुरआमाले तारादेवीको नाम भन्नुहुन्थ्यो । उहाँको धेरै गीत सुनेकी छु ।

सानोमा मलाई घरमा सबैले ‘मिलु’ भनेर बोलाउनु हुन्थ्यो । अहिले पनि बाबा-आमाले मायाले ‘मिलु’ नै भनेर बोलाउनुहुन्छ ।

No comments

Powered by Blogger.