श्रेष्तेदारको भरमा धनुषा जिल्ला अदालत
जनकपुरधाम । लामो समयदेखि न्यायाधिश नहुदाँ धनुषा जिल्ला अदालत श्रेष्तेदारको भरमा सञ्चालन भईरहेको छ ।
८ जना न्यायाधिशको दरबन्दी रहेको धनुषा जिल्ला अदालतमा विगत केहि दिनदेखि एक जना पनि न्यायाधिश छैनन् । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पश्चात जिल्ला अदालतमा न्यायाधिशको अभाव रहदै आएको छ । बेन्च नम्बर २ का न्यायाधिश वासुदेव पौडेल विदामा गएपछि श्रेष्तेदार राधाकाँन्त झा नै कति पय मुद्दामा थुन छेक आदेश गरेका छन् । मंगलवार मात्रै श्रेष्तेदार झाले शहिद नगरपालिकाको जर्वजस्ती करणी मुद्दामा एक अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरेका छन् ।
धनुषा शहिद नगरपालिका–९ गोठ कोयलपुर बस्ने एक महिलालाई सामुहिक बलात्कारको अभियुक्त कालु रोहिता भनिने नागेन्द्र भरखेरलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाएको छ । त्यस्तै, जनकपुर उपमहानगरपालिका –४ आदर्श नगरमा भएको सामुहिक बलात्कारको घटनाका अभियुक्त मध्ये दुई जना धनिक लाल साह र सुमन पाण्डेलाई पुर्पक्षका लागि करागार पठाएको आदालतले जनाएको छ ।
पछिल्लो पटक सर्वोच्च अदालतले जिल्ला अदालत धनुषामा ६ जनाको दरबन्दी पठाएको छ । तर ति मध्ये न्यायाधिश ऋषिराम निरौला अहिले सम्म जिल्ला अदालतमा हाजिर भएका छैनन् । अन्य दुई जना न्यायाधिश युवराज गौतम सर्वोच्च अदालतमा र इश्वर पराजुली न्यायिक प्रतिष्ठानमा काजमा रहेका छन् । त्यसैगरि, मुख्य न्यायाधिश राधाकृष्ण उप्रेती राष्ट्रिय सभाको निर्वाचनको तालिममा र ५ नम्बर बेन्चका न्यायाधिश न्याय सम्बन्धि तालिममा पोखरामा रहेका छन् । यसरी अदालतमा न्यायाधिश नहुदा श्रेष्तेदार झाले नै थुनछेक आदेश गरिरहेका छन् । श्रेष्तेदार झाले भने,‘ न्यायाधिश नहुदा जरुरी रहेको मुद्दामा थुनछेक श्रेष्तेदारले गर्न मिल्छ । त्यस हिसावले थुनछेक आदेश गरेका हौ ।’ प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनको समयमा पनि लागु औषध र सवारी ज्यान मुद्दामा आफुले थुनछेक आदेश गरेको उनले बताए ।
न्यायाधिश नहुदा मुद्दा फछर्यौटमा प्रभाव पर्नु स्वाभाविक रहेको उल्लेख गर्दै उनले भने,‘ देश भरि नै जिल्ला अदालतमा न्यायाधिशको अभाव छन्, त्यसैले यो समस्या आएको हो ।’ केहि महिना अगाडी सर्वोच्चले जिल्ला न्यायाधिशका लागि विज्ञान समेत गरेको उनले बताए । यता, जिल्ला अदालतमा न्यायाधिशको अभाव भएपछि मुद्दा फछ्र्याैटमा कमी आएको कानुन व्यवसायीहरुले बताए ।
Post a Comment