हिजो बाँडफाँट गर्नुपर्छ भन्ने, आज एकल नेतृत्व भन्ने ? संगति मिलेनः माधव नेपाल
माओवादीलाई विश्वासमा लिनु छ, सामुहिक नेतृत्वमा जानुपर्छ

०४७ सालको संविधान निर्मातासमेत भएको हिसाबले हामीले नेता नेपाललाई संवैधानिक प्रश्नको समाधान के हुन सक्छ भनेर समाधानको उपायबारे सोधेका हौं । र, दोस्रो- एमालेभित्र केपी ओली पक्षको पेलानमा पर्दै आएका हुनाले अब माओवादीसँगको पार्टी एकता र मन्त्रीहरु छान्ने प्रक्रिया कसरी अघि बढ्दा राम्रो होला भनेर प्रश्न गरेका हौं ।
अब बन्ने सरकारमा मन्त्रीहरु छान्ने प्रक्रियाबारे नेता नेपालले भने- ‘यत्रो महान जिम्मेवारी छ । कसैले कसैलाई पन्छाएर चल्न सकिँदैन । बैठक बस्नैपर्छ, अध्यक्षले मात्र गरेर हुँदैन, गर्न पाइँदैन ।’
चुनाव सकिनेबित्तिकै सरकार गठन, समानुपातिक निर्वाचनको परिणाम घोषणा र राष्ट्रियसभा अध्यादेशको विषयलाई लिएर केही द्विविधा सिर्जना भएका छन् । राष्ट्रपतिजस्तो संस्थालाई पनि विवादमा तान्ने काम हुन खोजिरहेको अवस्था देखिन्छ । यी विषयहरुको गाँठो फुकाउने उपाय के होला ?
यो सरकार दीर्घकालीन र दूरगामी प्रभाव पार्ने कुनै पनि काम गर्ने हैसियतमा छैन । चुनावको घोषणा र त्यसका प्रक्रिया शुरु हुनेबित्तिकै यो कुरा लागु हुन्छ । त्यसमा पनि निर्वाचनमा पराजित हुने स्थिति स्पष्ट भइसकेपछि त्यति पनि हैसियत यसले राख्दैन ।
यो कुरालाई बुझेर अरु बेलाजस्तो पूर्ण चरणको सरकार भएको ठान्नुहुँदैन । र, जुन काम नयाँ सरकारले गर्ने हो, त्यो म नै गर्छु भनेर दाबा पनि गर्नु हुँदैन । तेस्रो, नगरी नहुने काम पनि प्रतिपक्षको सल्लाह लिएर दुबैको सहमतिका आधारमा मात्र गर्नुपर्छ । तर, यो सरकारले ती तरिकाहरु अवलम्बन गरेको पाइएन । न राजीनामा दिएको छ, न त प्रतिपक्षलाई बैठकमा बोलाएको छ । न सल्लाह र परामर्श नै गरेको छ ।
अब नयाँ सरकार बनाउनका लागि राष्ट्रियसभाको गठनसम्म पर्खिनुपर्ने नै हो त ? संसदमा महिलाको प्रतिशत पुर्याउन राष्ट्रियसभा चाहिन्छ भनिँदैछ नि ?
संविधानमा प्रष्ट लेखिएको छ, प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउन सकिन्छ । प्रतिनिधिसभाको परिणाम आइसकेपछि निर्वाचन आयोगले समस्या नदेख्नुपर्ने हो । किनभने, राष्ट्रियसभाको हकमा त सीधै एक तिहाइभन्दा बढी आउने अवस्था त देखिइसकेको छ । स्वतन्त्र रुपमै छ त्यो कुरा ।
त्यसैले, प्रतिनिधिसभामा महिलाहरुको भार पर्ला भनेर चिन्तित किन हुनु पर्यो र ?प्रतिनिधिसभामा पनि एक तिहाइ हैसियत प्राप्त हुन्छ भने यसमा कुनै समस्या खडा गर्नुपर्ने आवश्यकता थिएन । त्यसैले, प्रतिनिधिसभा र राष्ट्रियसभालाई छुट्टै ढंगले लिएर अगाडि बढ्नुपर्ने हुन्छ । प्रतिनिधिसभाका आधारमा नै सरकार गठन हुने हो, राष्ट्रियसभाका आधारमा होइन ।
राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय आधारमा गर्ने कि बहुमतीय भन्ने विवाद भइरहेको सुनिन्छ, यसको निकास के हो ?
मत भारका बारेमा पनि संविधानमा प्रष्ट व्यवस्था छ । एकल संक्रमणीयका बारेमा कुनै व्यवस्था छैन । ०४७ सालको संविधानले प्रष्ट रुपमा एकल संक्रमणीय भनेको थियो । अहिलेको संविधान निर्माणका क्रममा उक्त व्यवस्था राख्नु आवश्यक छैन भन्ने ठानेरै हटाइएको हो । संविधानमै नभएको व्यवस्था कानुनमा जबर्जस्ती ठेल्ने काम गर्न पाइँदैन ।
सरकारले राष्ट्रपतिलाई पठाएको संक्रमणीय मत प्रणालीसहितको अध्यादेश संवैधानिक छैन । संविधानको भावना होइन त्यो । र, संविधानमा राख्नुपर्ने व्यवस्थालाई कानुनमा एकलौटी रुपमा राख्न पाइँदैन ।
त्यसोभए निर्वाचन आयोगलाई समानुपातिकको परिणाम सार्वजनिक गर्न केहीले छेकेको छैन ? राष्ट्रियसभाको अनुपस्थितिमा पनि सरकार गठन छेकिएको छैन र शेरबहादुर देउवालाई सरकारबाट बहिर्गमनका लागि यो अध्यादेशले रोक्दैन भन्ने तपाईको निश्कर्ष हो ?
खाली, संसदका दुवै सदनले गर्ने कामको सन्दर्भमा मात्र राष्ट्रियसभाको आवश्यकता पर्छ । अहिलेको सन्दर्भमा त्यो आवश्यक छैन । सिंगो संसदको एक तिहाइ महिला आउनुपर्नेछ भन्ने वाक्यलाई समातिएको छ । त्यो नहुँदा मात्र समस्या खडा हुने हो । तर, राष्ट्रियसभामा त आफैं संख्या पर्याप्त हुने भयो । ८ जनामा ३ महिला हुनुपर्ने भनेपछि राष्ट्रियसभामा ३३ प्रतिशत त स्वतः पर्ने भए । चिन्ता गर्नुपर्ने कुनै कुरै भएन । प्रतिनिधिसभाले आफ्नो संख्याको एकतिहाइ भनिरहेको छ भने त्यसमा राष्ट्रियसभाको बाटो कुर्नुपर्ने के आवश्यकता पर्यो ?
तर, निर्वाचन आयोगकै पदाधिकारीले पनि त भनेको सुनियो नि, संविधानको धारा ८४ (८) ले राष्ट्रियसभा नभई समानुपातिकको नतिजा सार्वजनिक गर्न दिँदैन….
आयोगले पनि त्यसमा राम्रो ढंगले सोच्नुपर्ने हो । प्रतिनिधिसभामा बहुमत भएको दल भन्ने संवैधानिक व्यवस्था नै भएपछि सक्किइगयो नि । महिलाको संख्या एक तिहाइमा सीमित गर्न खोजिएको हो कि त्यसभन्दा बढी आए पनि हुन्छ ? त्यसभन्दा बढी आउने स्थिति बनेको छ भने चिन्ता किन गर्नुपर्यो ?
यदि यो कानूनी प्रश्न थियो भने आयोगले दलहरुलाई बोलाएर छलफल गर्नुपथ्र्यो । राजनीतिक प्रश्न थियो भने पनि पार्टीहरुसँग परामर्श गरेर टुंगो लगाए हुन्थ्यो नि त ।
प्रतिनिधिसभाको गठन हुने दुईवटा आधार छन्, प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली । दुवै निर्वाचनको परिणाम आइसकेपछि कुर्नुपर्ने आवश्यकता थिएन । छलफल गरौं र यस्ता कुराहरुमा अल्भिmइरहने काम नगरौं ।
भनेपछि अब समानुपातिकको नतिजा आइसकेको सन्दर्भमा आयोगले निर्वाचनको अन्तिम नतिजा राष्ट्रपतिकहाँ पठाउने, अनि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने हो ?
बढ्नुपर्ने हो । राष्ट्रियसभासम्बन्धी कुरामा अड्को थापिएकाले समस्या खडा भएको छ । राष्ट्रपतिले पनि पार्टीहरुबीच बैठक बोलाउने र यस्ता कुराहरुमा अल्मलिन हुँदैन भनेर छिटो टुंग्याउनोस् भन्नुपर्ने आवश्यक भइसक्यो ।
यस्तो बेलामा वाम गठबन्धनका नेताहरुको भूमिका चाहिँ अब के हुने त ?
वाम गठबन्धनका नेताहरुबीच छलफल हुनुपर्यो । दुवैको राय एउटै ठाउँमा आउनुपर्यो । त्यो रायका आधारमा अहिलेको कामचलाउ सरकारसँग ‘डिल’ गर्नुपर्यो । र, काम चलाउ सरकारले त्यसै आधारमा चल्नुपर्यो ।
सरकारले सत्ता लम्व्याउने नियतले हो कि किन यसो गरिरहेको छ ? कि यसलाई नयाँ संविधानमा केही प्रश्न स्वाभाविक रुपमा पैदा भएको हो भनेर सहज रुपमा बुझ्ने ?
त्यस्तो केही थियो भने त प्रधानमन्त्रीले बोलाएर छलफल त गर्नुपर्यो नि । छलफल, परामर्श र सेयरिङ नै नगर्ने प्रवृत्ति बहुत दुःखद् पक्ष हो । अर्को महत्वपूर्ण पार्टी झण्डै दुई तिहाइ बहुमतको अवस्थामा आइसक्यो । अझै त्यसलाई अस्वीकार गर्न खोज्नु उचित भएन । आफूले अहिले अस्वीकार गर्दा भोलि आफूलाई के होला भन्ने हेक्का त राख्नुपर्यो नि ।
जब आफैंले अनुचित र एकल तरिकाले काम गर्न थालेपछि भोलि अर्कोले पनि एकल गर्न थाल्यो भने गुनासो र आरोप लगाउने ठाउँ रहन्छ, नैतिक हिसाबले ? त्यो अहिलेका प्रधानमन्त्रीले विचार गर्नुपर्यो ।
जब आफैंले अनुचित र एकल तरिकाले काम गर्न थालेपछि भोलि अर्कोले पनि एकल गर्न थाल्यो भने गुनासो र आरोप लगाउने ठाउँ रहन्छ, नैतिक हिसाबले ? त्यो अहिलेका प्रधानमन्त्रीले विचार गर्नुपर्यो ।
प्रधानमन्त्री देउवाले तत्काल राजीनामा दिनुपर्छ कि पर्दैन ?
राजीनामा दिनु जरुरी छैन । दिँदाखेरि त राम्रै हुन्थ्यो । स्वतः बाटो क्लियर हुन्छ । त्यति गर्न सक्दा पिक्चर क्लियर हुन्छ । आफूले उनीहरुले सत्तामा चढेपछि चुनाव गराउँदैनन् भन्ने, आफू भने दुई दिन भए पनि सत्तामा झुण्डिने चाहना राख्ने । यो उचित देखिएन । छिटोभन्दा छिटो टुंग्याएर बिदा हुने तरिका अपनाउनुपर्छ ।
अहिले वामएकताको पाटोमा पनि द्विविधा पैदा भएको छ । एमाले महासचिव ईश्वर पोखरेलले भन्नुभएको छ कि संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री भिन्दाभिन्नै व्यक्ति हुँदा बहुकेन्द्र सिर्जना हुन्छ । पोखरेलको भनाइले माओवादीमा तरंग आएको देखिँदैछ । के एमालेले तीनवटै प्रमुख पदमा एउटै व्यक्तिलाई राख्न खोजेको हो ?
दोहोरो-तेहेरो व्याख्या गर्नु हुँदैन । आफ्नो बोलीमा संगति खोज्नुपर्छ ।

एकल नेतृत्वको तरिका गलत हो । कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्वको तरिका नै हो । सामूहिक नेतृत्वको तरिका अवलम्बन गरेर अगाडि बढ्नुपर्छ । माक्र्सवादी-लेनिनवादी संगठनात्मक सिद्धान्तले यही भन्छ ।
कसका बारेमा सहमति हुन्छ भन्ने छलफल गरेर टुंगो लगाउन सकिन्छ । या, विधिबाट पनि यसलाई टुंगो लगाउन सकिन्छ । तर, सिद्धान्तमा एउटा कुरा अड्नुपर्यो । मैले सधैं विधिमा उभिनोस् भन्नेमा जोड दिने गरेको छु । एउटै मापदण्ड र तर्कमा उभिनोस् भन्ने गरेको छु, सबैलाई । ठाउँ हेरेर कुरा फेर्ने र आफूलाई फाइदा हुने गरी चल्ने तरिका अपनाउनुहुँदैन ।
अहिले त माओवादी पार्टीलाई पनि विश्वासमा लिएर जानुछ । पार्टी एकता गर्नुपर्नेछ । एकीकृत पार्टी निर्माण गर्नुपर्नेछ । यत्रो महान अभिभारा छ । र, जो पार्टी एकताको विपक्षमा उभिन्छ र अलमल गर्न खोज्छ, त्यसको विपक्षमा आम पार्टी कार्यकर्ताहरु हुनेछन् । आम जनता पनि विपक्षमा हुनेछन् ।
विनाविलम्ब माओवादी पार्टीलाई साथमा लिएर जाने हो । एकीकृत गर्ने हो । सबै किसिमका आशंकाहरु निर्मूल गरेर विश्वासमा लिने हो । हातेमालो गर्दै अगाडि बढ्ने हो ।
त्यसको अर्थ पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एकै ठाउँ केन्दि्रत गर्नुहुँदैन भन्ने तपाईको धारणा हो ?
त्यसको निष्कर्षमा म पुगिसकेको छैन । तर, मेरो भनाइ हो, एउटा सिद्धान्तमा उभिनुपर्यो । हिजोको निम्ति एउटा सिद्धान्त बाँडफाँट गरेर चल्नुपर्छ भन्ने । आजको निम्ति अर्को सिद्धान्त, एकल नेतृत्व भन्ने । संगति मिलेन ।
पार्टीभित्र त हामी व्यवस्थापन गरौंला, कुनै ठूलो कुरा भएन । तर, माओवादी केन्द्रलाई मिलाउँदा त त्यो संवेदनशीलतालाई समेत बुझेर जानुपर्छ । उनीहरुलाई कसरी साथमा लिएर जाने, विश्वास कसरी प्राप्त गर्ने ? विश्वासमा लिन सक्यौं भने मात्र बल्ल पार्टी एकताले पनि साकार रुप धारण गर्न सक्छ ।
उनीहरुको भनाइ के हो, एमालेभित्र पनि नेताहरुको धारणा फरक-फरक हुन सक्ला । एक ठाउँ बसेर सिंगो कम्युनिस्ट आन्दोलनको हितमा के हुन्छ, राष्ट्रको हितमा के हुन्छ भनेर जाने हो । कुनै पदका निम्ति हामीलाई तानातान गर्नुपर्ने छैन ।
हाम्रो काम जनतालाई डेलिभरी दिने हो । सुशासन दिने र ढिलासुस्ती अन्त्य गर्ने कुरा हो । सबै सामाजिक, राजनीतिक विकृतिलाई समाप्त पार्ने कुरा हो । र, छिटो छरितो काम गरेर जनतालाई प्रत्यक्ष लाभ हासिल गराउने कुरा हो ।
हिजो एमालेभित्र कतिपय निर्णयहरु लोकतान्त्रिक र सामूहिक ढंगले नहुने, एकल निर्णय हुने, आफ्नो मात्रै हितमा निर्णयहरु गर्ने भन्ने गुनासो सुनिन्थ्यो । एमालेभित्रको यस्तो परिपाटीले माओवादीसँगको पार्टी एकतालाई असर पार्दैन ?
भरखरै चुनावबाट हामी आएका छौं । चुनावी कामका केही व्यस्तता पनि छन् । निर्वाचनको परिणामका निम्ति पनि समय लाग्छ । तर, हामीले छिटै बसेर छलफल गर्नुपर्छ । विचार विमर्श गरेर धारणा बनाउनुपर्छ । र, एउटै बोली र एउटै आवाजबाट अगाडि बढ्नुपर्छ ।
पहिलो त पार्टी एकता संयोजन समितिको बैठक बस्नुपर्यो । मेजर निर्णय गर्नुछ भने केन्द्रीय समिति र पोलिटब्युरोको बैठक बस्नुपर्यो । त्यसअघि गृहकार्य गर्नुछ भने स्थायी समितिको बैठक बस्नुपर्यो । अझै गृहकार्य गर्नुछ भने मुल नेताहरु बस्नुपर्यो । एउटा विश्वास र सहमति कायम गर्ने काममा जुट्नुपर्यो ।
यत्रो महान जिम्मेवारी छ । कसैले कसैलाई पन्छाएर चल्न सकिँदैन । सबैलाई विश्वासमा लिएर हातेमालो गरेर अगाडि नबढे जनता र कार्यकर्ताले त्यसलाई राम्रो मान्ने छैनन् ।
सरकार गठन र मन्त्री छनोटका लागि पनि त सामूहिक निर्णय लिन बैठक बस्नै पर्यो होला नि ? कि बैठक नबसी अध्यक्षले गर्दा हुन्छ ?
बैठक बस्नैपर्छ, अध्यक्षले मात्र गरेर हुँदैन, गर्न पाइँदैन । स्थायी समितिले नै अधिकार दियो र एकजना व्यक्तिले सोचेर गर्ने भन्यो भने मात्र त्यसो गर्न सकिन्छ । कमिटीले जिम्मा दिने निर्णय गर्छ भने सोही आधारमा चल्नुपर्छ ।
पहिले त प्रधानमन्त्रीकै टुंगो लगाउनुपर्यो । माओवादी केन्द्रसँग कुराकानी हुनुपर्यो र हामीभित्र पनि छलफल हुनुपर्यो । त्यसपछि राष्ट्रपति, सभामुख र मन्त्रीका कुरा आउलान् । अब छलफल गरेर टुंगोमा पुग्ने समय आउन थाल्यो ।
तपाईंको भूमिका चाहिं अब के रहन्छ ?
मेरो भूमिका त पार्टीलाई बलियो बनाउने रहन्छ । देशलाई समृद्ध बनाउने र सुशासन कायम गर्ने दिशामा निर्वाह गर्नुपर्ने सक्रिय भूमिका हुनेछ । म सक्रियताका साथ नै अगाडि बढ्न चाहन्छु । सिंगो देशको विकासको कस्तो रुपरेखा ल्याउने ? घोषणापत्रले अगाडि सारेका विषयलाई ठोस रुपमा हामीले एक वर्षे, पाँच वर्षे योजना, परियोजनामा ढाल्नुपर्छ ।
पार्टी अध्यक्ष, मुलुकको कार्यकारी प्रमुख या राष्ट्रपतिका रुपमा अगाडि बढ्ने केही इच्छा, आकांक्षा छ कि ?
मेरा नितान्त अलग्ग कुनै आकांक्षा छैनन् । मेरो आकांक्षा एउटै छ, पाँच वर्षको अवधिमा काम गरेर जनताको विश्वास जितौं । यसबीचमा जहाँ-जहाँ हाम्रो कमजोरी भएको छ, सुधार गरौं । खासगरी, प्रदेश-२ मा हामीले जसरी ठूलो धक्का खाएका छौं, त्यसको राम्रो विश्लेषण र मूल्यांकन गरौं । र, पार्टी निर्माण गर्ने काममा जनतासँगको सम्बन्धलाई घनिभूत बनाउँदै विस्तार गर्ने कुरामा जुटौं ।
अरु ठाउँमा पनि जित्यौं भन्ने कुरामा मात्र मख्ख नपरौं । कुन-कुन कारणले जित्यौं भन्ने कुराको राम्रो विश्लेषण गरौं । र, चुनावको दौरान जनताले के के सुझाव र आलोचना अगाडि सारेका छन् । कहिलेकाहीं आलोचनाका बावजुद पनि समर्थन गर्ने कुरा हुन्छ । ती सबै कुरालाई विचार गरेर कमी र त्रुटी छन् भने सुधार्ने र राम्रा कुरा छन् भने जोगाउने काम गर्नुपर्छ । जनतासँगको सम्बन्धलाई सुदृढ र पार्टी संगठनलाई बलियो बनाएर तथा कार्यकर्तालाई राम्रो परिचालन, योग्य र सक्षम कार्यकर्ताको मूल्यांकन गर्दै उपयुक्त जिम्मेवारी दिएर अगाडि बढ्ने काम गरौं ।
एमालेमा आएका धेरै मानिसलाई समेट्नुपर्नेछ । र, अरुलाई पनि ल्याउनु छ । यी ठूला कामहरु गर्नुपर्ने भएकाले भद्दा कमिटीहरु बनाउनु पनि हुँदैन । सानो, छरितो र गतिशील कमिटी बनाउनुपर्छ ।
आठ करोड ९० लाख पार्टी सदस्य भएको चीनमा त चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समिति जम्मा ७ जनाको छ । दुई सय जनाको केन्द्रीय कमिटी मात्र छ । २५ जनाको पोलिटब्युरो छ । हामीकहाँ पाँच लाखभन्दा बढी पार्टी सदस्य छैनन् ।
शान्तिप्रक्रियाको एउटा कोर्स सकिएपछि माधवकुमार नेपालको पनि भूमिका सकियो भन्नेहरु पनि छन् नि ?
माधव नेपालको भूमिका सकिएको जनताले ठानेको भए जनताले चुनावमा जिताउने थिएनन् । जनताले आशा र अपेक्षा गरिरहेका छन् । ऊर्जा भएसम्म, ज्यानले दिएसम्म, बुद्धिले साथ दिएसम्म, समयले माग गरेसम्म, पार्टी र जनताले आवश्यकता बोध गरेसम्म मेरो भूमिका रहिरहन्छ । सक्रिय मान्छेको भूमिका जहिले पनि रहन्छ । कसैले रोकेर, छेकेर छेकिँदैन पनि । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि भूमिका रहन्छ ।
दुई फरक विचारबाट अगाडि बढेका कम्युनिस्ट पार्टीहरु एक हुँदैछन् । यसका सकारात्मक, नकारात्मक पक्ष के होलान् ?
समग्रतामा राम्रो हुन्छ । मूल्यांकन गर्ने कुरामा अलि गाह्रो पर्ला । मानिसको योग्यता, क्षमता, इतिहास सबै पक्षलाई हेरिकन मान्छेलाई मूल्यांकन गर्दै समेटेर लानुपर्छ । सबैको योग्यताको उपयोग हुन सकोस् भनेर सोच्ने हो ।
जनतामाझ लोकपि्रय, संगठनात्मक कौशलता राख्ने, आ-आफ्नो क्षेत्रमा जसको दख्खल छ, त्यसको पहिचान गर्नुपर्यो । र, मान्छेलाई पद दिने होइन, पदीय जिम्मेवारी पूरा गर्न सक्छ कि सक्दैन, उसको छवि राम्रो छ कि छैन, जनतासँग घुलमिल हुन्छ कि हुँदैन भन्ने सबै पक्ष हेरेर कार्यकर्ताको उचित मूल्यांकन गर्नुपर्छ । र, सोहीअनुसार जिम्मेवारी बाँडफाँट गर्ने हो भने दुवै पार्टीबीचको एकतामा कुनै समस्या आउने छैन । आइहाले पनि त्यसलाई हल गर्दै अगाडि बढ्नु पर्छ ।
प्रचण्डजीले यसपटक बल्ल चुनाव लडेको अनुभव भयो भन्नुभयो । तपाईंलाई यसपटकको चुनावको अलिकति फरक महशुस भयो कि पहिलेको जस्तै ?
चुनावमा यसपटक आर्थिक विकृति निकै बढेको देखियो । आर्थिक र सामाजिक विकृतिलाई कसरी कम गर्न सकिन्छ भन्नेमा जानुपर्यो । पैसाको चलखेल निकै भएको रिपोर्टहरु आइरहेका छन् । निर्वाचन आयोगले कतिपय कुरालाई नियन्त्रण गर्न सक्यो । तर, अरु पनि कुरालाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा ध्यान जानु जरुरी छ ।
उम्मेदवारहरु जनताका माझमा पुगे । त्यसक्रममा उठेका प्रश्नको जवाफ पनि दिए । मलाई पनि निर्वाचन क्षेत्र जितेर, छोडेर हिँड्नुभयो भनेर गुनासो आएको थियो । मैले जनतालाई स्पष्टीकरण पनि दिएँ । विश्वास पनि दिलाएँ । यो सम्बन्ध बीचमा कायम थियो । आगामी दिनमा निर्वाचन क्षेत्र छोड्ने प्रश्न पनि छैन । जनताले माया र विश्वास गरेका छन् । त्यो माया र विश्वासमा कुनै घात हुने छैन ।
नेताहरुले जनतासँग गइराख्नुपर्ने रहेछ भन्ने महशुस भएको हो, यसपटक ?
जनतासँगको सम्बन्धलाई नङ र मासु, पानी र माछाजस्तो बनाउनै पर्छ । जनताको विकासको चाहना पूरा गर्नका लागि सडक, पानी, ढल, सरसफाइ, हरियाली विकास, जग्गाको मुआब्जा, भौतिक विकास, बिद्यालय, स्वास्थ्यचौकी, टेलिकम्युनिकेसन टावरको आवश्यकता, आईटी क्षेत्रको विकासको माग आदि/इत्यादि चिजलाई ध्यानमा राखेर चल्नुपर्छ ।
रोजगारी प्रवर्द्धनका लागि पनि मिहिनेत गर्नैपर्ने हुन्छ । जनताको माझमा नियमित रुपमा गइरहने र संवादमा बसिरहने कुरामा जोड दिनुपर्छ । यसबाट सबैले शिक्षा लिनुपर्ने आवश्यकता देखिएको छ ।
Post a Comment