म्याग्दीका पाँच ठाउँमा टेलिकमको बिटिएस थपियो

म्याग्दी: नेपाल टेलिकमले दुर्गम क्षेत्रका सर्वसाधारणलाई घरदैलोमै सञ्चारको पहुँच उपलब्ध गराउने उद्देश्यले पछिल्लोपटक म्याग्दीमा बिटिएस टावर थप गरेको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लाका विभिन्न पाँच ठाउँमा मोबाइल सेवाको बिटिएस स्थापना गरिएको नेपाल टेलिकम दुरसञ्चार कार्यालय जिल्ला शाखा म्याग्दीले जनाएको छ
 
जिल्लाको उत्तरी रघुगंगा गाउँपालिकाको पाखापानी र बेगखोला, पश्चिम म्याग्दीमा मंगलाको बाबियाचौर र अर्मन, मालिकाको ओखरबोट तथा रुम गाउँमा बिटिएस स्थापना गरी सञ्चालन गरिएको टेलिकमले जानकारी दिएको छ । टावर स्थापना गरी सञ्चालनमा ल्याइएका बिटिएसमध्ये बाबियाचौरको बिटिएसमा भने व्याकअप नहुँदा आगामी एक हप्ताभित्र विद्युत जडानगरी सञ्चालनमा ल्याइने नेपाल टेलिकम म्याग्दीका शाखा प्रमुख विष्णुदेव शाहले बताउनुभयो ।
 
उहाँका अनुसार अन्य ठाउँमा टावर जडानलगत्तै मोबाइल सेवा सञ्चालनमा आइसकेको छ । यसैगरी मुना, बराङ्जा र ज्यामरुककोटमा चालु वर्षभित्रै थप बिटिएस स्थापना गरी मोबाइल सेवालाई अझै गुणस्तरीय बनाइने शाखा प्रमुख शाहले जानकारी दिनुभयो । हाल म्याग्दीको सदरमुकाम बेनीबजार, पर्यटकीय क्षेत्र राम्चे, घोरेपानी, दोवा, पुलाचौर, रुम, बराङ्जा, राखुभगवती, टोड्के, शिखघार लगायतका क्षेत्रमा थ्रीजी सेवा सञ्चालनमा आएको छ ।
 
त्यस्तै ताकम, दाना, अर्मन, पाखापानी, ओखरबोट, बेगखोला र बाबियाचौरमा इन्टरनेटका लागि टुजी सेवा विस्तार गरिएको शाखा प्रमुख शाहको भनाई छ । पहिलो चरणमा टावर सञ्चालन गरिएका बिटिएसमा टुजी तथा विद्युत जडान गरिएका टावरमा थ्रीजी सेवा सञ्चालन गरिएको छ । टावर नपुगेका ठाउँमा टावरको स्थापना गर्ने र टावर स्थापना भई सञ्चालनमा आएका ठाउँहरुमा इन्टरनेट सेवा पनि विस्तार गर्ने जनाइएको छ ।
 
२०६८ सालको जनगणना अनुसार म्याग्दी जिल्लाको कुल जनसङ्ख्या १ लाख १३ हजार ६ सय ४१ रहेकोमा चालु वर्षको असोज मसान्तसम्म जम्मा ८८ हजार ९ सय ८२ अर्थात् ७८ दशमलव ३ प्रतिशतमा सञ्चारको पहुँच पुगेको टेलिकमको तथ्याङ्क छ ।

No comments

Powered by Blogger.