बंगलादेश पढ्न गएकी नेपाली छात्रा मृत फेला
बंगलादेशको ढाकामा अध्ययनका लागि गएकी एक नेपाली छात्रा मृत फेला परेकी छिन् ।
ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षीया
विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् ।
उनी सो कलेजको २२ औं व्याचको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।
उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासका
उपप्रमुख धनबहादुर वलीले जानकारी दिए । उनका अनुसार साहका साथी र प्रहरीले घटनाबारे
दूतावासलाई जानकारी गराएका थिए । त्यसपछि मृतकका आफन्तलाई दूतावासले जानकारी
गराएको थियो ।
उनका साथीहरुले दिएको जानकारी अनुसार परीक्षा हलबाट निराश हुँदै होस्टलको कोठामा
फर्किएकी उनी बुधबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
कलेज सन्चालक अब्दुल गफुरले ट्युसन फी समयमै नतिरेपछि साहलाई परीक्षामा बस्न नदिइएको
स्थानीय मिडियालाई बताएका छन् ।
सेकेन्ड टर्मको परीक्षाको प्रवेशपत्र लिनका लागि लागि कलेजले दुई लाख टाका विद्यार्थीहरुबाट माग
गरेको साहका सहपाठीहरुलाई उद्धृत गर्दै बंगलादेशको जागो न्यूज अनलाइनले लेखेको छ ।
अनलाइनका अनुसार कलेज प्रशासन र शिक्षकहरुको दबावका कारण साहले आत्महत्या गरेको
अनुमान गरिएको छ ।
भतरा प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।
Post a Comment