उपन्यास कैलीः आन्टी, हाम्रो परिवार बिगारेर के पाउनुभो ?



त्यो रातमा मायाको मातमा लामो समय हराइसकेपछि हामी गफिन थाल्यौँ । पढाइ सकेर अर्को कुनै देश घुम्न जाने कुरा भयो । मैले पेरिसको कुरा निकाल्दै आमाको कुरा गरेँ । दीपले आमालाई धेरै माया गर्दाे रहेछ । उसले आमाको बारेमा कुनै नराम्रो कुरा गरेन । मैले मामूको कुरा पनि गरेँ । मामूको राम्रो कुराहरू मात्र दीपलाई सुनाइरहेँ । दीप केही नबोली सुनिरह्यो । उसले मलाई धेरै बेरसम्म बोल्न दिइरह्यो । मैले दीपबाट सबैकुरा जान्नका लागि नै मामूको राम्रो कुराहरू भनिरहेकी थेँ । उसले कुनै प्रतिक्रिया जनाएन, त्यसपछि मैले आमाकै गल्ती देखाउन थाले ।
जब मैले आमालाई नराम्रो र मामूलाई राम्रो साबित गर्न खोजेँ तब भने दीपको बोली फुट्यो । ऊ केही बोल्न खोज्दै रोकिँदै गरिरह्यो । सायद उसले सबैकुरा मलाई भनिहाल्न आवश्यक ठानेन होला तर उसले रोक्न पनि सकिरहेको थेन । मैले फेरि आमाले छाडेर जान हुन्थेन आमाकै गल्ती हो भन्ने खालका कुरा गरेँ । मेरो त्यस्तो कुरा सुनेर ऊ आवेशमा आएर यसरी अतीतको यथार्थ पोख्न थाल्यो—
‘म नजन्मँदैको कुरा हो, मेरो हजुरबुबा र हजुरमुमा पेरिसमा बिजनेस गर्नुहुन्थ्यो । बाबा सत्र वर्षको हुँदा उहाँहरू दुवैजना बित्नुभएको रे ! एकजना फुपू पनि हुनुहुन्थ्यो रे, उहाँ त झन् सानैमा बित्नुभएको रहेछ । हजुरबुबाको बिजनेस बाबाले सम्हाल्न थाल्नुभएछ । उहाँले निकै दुःख गरेर राम्रो प्रगति पनि गर्नु भएछ । बिजनेसबाट राम्रो आम्दानी हुन थालेछ । त्यसपछि बाबाको आमासँग भेट भएछ । आमा बाबाकै पसलबाट सामान लगेर व्यापार गर्नुहुँदो रैछ । यसै क्रममा बाबासँग लभ परेछ । तिम्रो र मेरो जस्तै ।
एक वर्षसम्म उहाँहरूको लभ परेछ । त्यसपछि आमा र बाबाले बिहा गर्नुभएछ । अनि आमाको पसल बेचेर उहाँहरु सङ्गै बस्न थाल्नु भएछ । त्यसपछिका दिनहरू धेरै रमाइला थे भनेर आमा कुरा गर्नुहुन्थ्यो । दुवैजनाको गहिरो माया थियो रे । कुनै पल पनि नछुट्टी दुवैजना सङ्गै बस्नु हुँदोरहेछ । बिजनेस पनि फस्टाउँदै गएछ ।
त्यसै क्रममा आमा र बाबाको मायाको चिनो बनेर म पनि यस धर्तीमा आएँ । आमा र बाबाले मलाई स्याहार्ने फुुर्सदै पाउनु भएन । म अलि ठूलो भएपछि उहाँहरूले मलाई होस्टेलमा राख्दिनुभो र उहाँहरू बिजनेसमै व्यस्त हुनुभो । उहाँहरूलाई मलाई भेट्न आउने फुर्सद नि हुन्थेन, महिनामा एक चोटी मात्र आउनुहुन्थ्यो । म ठूलो हुँदै गएँ । उहाँहरूले मलाई कहिल्यै पसलमा राख्नु भएन । मलाई पढ्न भनेर सधैँ स्वतन्त्र छाडिदिनुभो ।
धेरै स्वतन्त्रता पाएपछि र त्यसको सही सदुपयोग भएन भने मान्छे नराम्रो बाटोमा तानिँदो रैछ । बिस्तारै मलाई चुरोट, तास, रक्सी र स्नुकरको नशा लाग्यो । म पढाइमा भन्दा साथीहरूसँग त्यतै रमाउन थाले । रमाइलोमा मेरो धेरै समय बित्यो । कहिल्यै पैसाको खाँचो पनि परेन । सायद त्यसैले होला मलाई घरको कुनै मतलवै भएन ।
एकदिन बाबाले मसँग व्यापार अमेरिकातिर सार्न लागेको कुरा गर्नुभो । आमा र बाबाको सल्लाह भैसकेको रैछ । हाम्रो घरमा प्रायः जसो आइराख्ने आन्टीले अमेरिका व्यापार सार्ने सल्लाह दिनु भ’को रैछ । सबै जनालाई अमेरिका जाने चाहना भएको हुनाले व्यापार सार्ने सहमति भो ।
आन्टीले अमेरिकामा सबै बन्दोवस्त मिलाइदिने हुनुभो । उहाँले अमेरिकामा केही परेमा वा व्यापार नचलेमा सबै जिम्मा लिने हुनुभो । आमाको पनि अमेरिका आउने मनथियो । बाबाको पनि अमेरिका बस्ने चाहना । मलाई पनि ठीकै लाग्यो । मैले पनि सहमति जनाएँ । त्यसपछि पसल बन्द गरेर हामी कुम्लो कुटुरो बोकेर अमेरिका स¥यौँ । पुर्खाको नासो मासेर जान मन नलागेर होला बाबाले पेरिसको केही बेच्नु भएन । पछि केही समस्या परेमा फर्कने ठाउँ राख्नुभो ।
त्यसरी पेरिसको घर, जमीन र पसल त्यत्तिकै छाडेर हामी सबै अमेरिका स¥यौँ । आन्टी अमेरिकाको टेक्सस्मा बस्नुहुँदो रैछ । आन्टीको निकै ठूलो पसल रैछ । बाबाले आन्टीसँग त्यो पसल किन्नुभो । त्यसपछि हामी पसल चलाउन थाल्यौँ ।
केही महिनापछि आन्टीले एउटा कलेज खोल्नुभो । जुन कलेजमा अहिले हामी पढ्दैछौँ । कलेजमा आन्टीको एकलौटि लगानी थ्यो । आन्टी पनि एक्ली नै हुनुहुन्थ्यो । उहाँको परिवार कोही थेन । त्यसैले होला हामीलाई आफ्नै परिवार जस्तै मान्नुहुन्थ्यो । मलाई पनि आफ्नै आन्टी जस्तो लाग्थ्यो । हाम्रो आवतजावत बाक्लै हुन्थ्यो । प्रायः हामी सँगै नै बस्थ्यौँ ।
हाम्रो पसल राम्रै चलिरहेको थियो । आन्टीले चलाउँदा भन्दा राम्रो चल्न थालेको थ्यो । उता आन्टीको कलेज पनि राम्रोसँग चल्न थाल्यो । विद्यार्थीको धेरै नै चाप बढ्यो ।
आन्टीलाई एक्लै कलेज चलाउन हम्मेहम्मे पर्‍यो । त्यसपछि बाबा, आमा र आन्टीको सरसल्लाह र सहमतिमा पसल बेच्ने निर्णय भो । पसल बेचेर बाबाले सबै पैसा आन्टीकै कलेजमा लगानी गर्नुभो ।
आन्टी पनि हामीसँगै बस्न थाल्नुभो । बाबा र आन्टी कलेज सम्हाल्नुहुन्थ्यो । त्यसपछिका दिनमा आमाको खासै काम भएन । उता बाबा र आन्टीको कहिल्यै फुर्सद भएन । म पनि आफ्नै कलेजमा पढ्न थालेँ । कलेज असाध्यै चल्यो । कमाई सोचेभन्दा चौबर भो । त्यसरी हाम्रो बिजनेस दोकानबाट कलेजमा पुग्यो । सबैथोक राम्रै चलिराथ्यो । बाबा र आन्टीले धेरै मेहनत गर्नु भ’को थ्यो ।
समयको रफ्तारसँगै हामी दौडिरहेका थ्यौँ । घरमा बसिरहन आमालाई अल्छि लागेछ क्यार ! एकदिन मलाई बाहिर जाम भन्नुभो । आमा र म बाहिर घुम्न निस्कियौँ । आमाले कलेज जाने मन गर्नुभो । बाबा र आन्टी पनि कलेजमै होलान् सँगै आउनुपर्छ भनेर हामी कलेज गयौँ तर बाबा र आन्टीलाई हामीले कलेजमा भेटेनौँ । कलेका स्टाफहरू बाबा र आन्टीकै कुरा गरेर बसिरहेका रहेछन् । उनीहरूको कुरा सुनेर आमाले नरमाइलो मान्नुभो । मलाई पनि नराम्रो लाग्यो ।
बिस्तारै बाबा र आन्टीको चक्कर चलेको कुरा सबैलाई थाहा हुँदै गयो । उहाँहरूको कलेजबाट हराउने र घर ढिलो आउने क्रम चल्दै गयो । त्यति हुँदा पनि आमा केही बोल्नु भ’को थेन । केही थाहा नभएझैँ गरी आफ्नो काम गरी रहनुभो । आन्टी लाजै नमानी हाम्रै अगाडि बाबासँग मस्केर हिँड्न थाल्नुभो । आन्टी र बाबा बिहान सँगै एउटै गाडीमा कलेज जानुहुन्थ्यो । म पनि सँगसँगै जान्थे तर फरक गाडीमा । आमा दिनभरी घरमा एक्लै बस्नुहुन्थ्यो । दिन प्रतिदिन बाबा र आन्टी ढिलो–ढिलो घर आउन थाल्नुभो । कत्ति दिन त घरै आउनुहुन्नथ्यो ।
पहिले–पहिले दिनमा पनि आक्कल झुक्कल घर आएर आमाले बनाएको खाजा खाएर जाने बाबा, पछि–पछि रातमा पनि आक्कल झुक्कल मात्र घर आउन थाल्नुभो । बाबाको लीला देखेर मलाई नि चिन्ता लाइरहन्थ्यो । आमा त झन् बिचरा आँसुमै डुबेर बस्नु भाथ्यो ।
पैसा धेरै भएपछि मान्छे मात्तिन्छ भन्थे हो रैछ । म आफ्नै बाबा पैसाले मात्तिएको हेरिरहँे । पैसा कहाँ राखूँ र के गरूँ भएपछि बाबाको बासै रिसोर्टतिर हुन थाल्यो । झुपडीमा आउनै छोड्नुभो ।
त्यसपछि आन्टी र बाबाले जग्गा किनेर ठूलो महल बनाउन थाल्नुभो । आमा र मैले त अब अर्काे कलेज खोल्न लाग्या होलान् भन्ने सोच्याँै तर हैन रैछ । त्यो महल त हामी आफैँ बस्नको लागि बनाउनु भा रैछ । ठूलो र सुविधा सम्पन्न घर बनाउने रे भन्ने हल्ला त चलेको थ्यो । नभन्दै तीन तलाको सुविधा सम्पन्न रिसोर्ट जस्तो कलात्मक घर बन्यो । घर अगाडि स्विमिङ्ग पूल, साना साना कटेज, मसाज सेन्टर, तास, पोकर र ज्याकपट खेल्ने ठाउँ, रक्सी र चुरोट खाने बेग्लै हल, स्न्याक्स हल, डिनर हल सबै छुट्टा छुट्टै । फाइभ स्टार होटल जस्तो घर तयार भो । हामी सबै जना स¥यौँ । त्यही घरमा अहिले तिमी पनि बस्दै छ्यौ ।
नयाँ घरमा सरेपछि घरको वातावरण पुरानो घरको जस्तो रहेन । आमाले पकाको खाना खान पाइनँ छोडो । जस्तो खाना खान मन लाग्छ त्यस्तै तयार हुन थाल्यो । रेष्टुरेन्टमा जस्तै आइटम आइटमका खाना तयार हुन थाले । कुक, वेटर, डान्सर सबै घरभरि हुन थाले ।
हामीले यस्तो दिन आउला भनेर कहिल्यै कल्पनासम्म पनि गरेका थेनौँ । जीवनमा कल्पना नगरेका पनि धेरै कुरा हुँदा रहेछन् । आन्टीले पनि बाबासँग लागेर यस्तो लीला देखाउनु होला भन्ने हामीले कल्पना गरेका थेनौँ । हुन त रगतको नाता हैन, साथीको नाताबाट जोडिएर आफन्त बनेको मान्छे । यहाँ आफ्नैको त भर हुँदैन पैसाको बलमा जोडिएको सम्बन्धको के भर ! आमा धेरै सोझी हुनुहुन्छ । छिट्टै विश्वास गरिहाल्नु हुन्छ । त्यसैले गर्दा आज आमालाई यत्रो घात परेको छ । बिचरा एक्लै हुनुहुन्छ ।
दिनदिनै बाबाले आमालाई नराम्रो व्यवहार गर्न थाल्नुभो । उता आन्टीलाई भने सधैँ राम्रो व्यवहार गर्नु हुन्थ्यो । ती सबै घटना टुलुटुलु हेरेर बस्नु सिवाय मैले पनि केही गर्न सकिनँ । त्यसैले म पनि प्रायः नशामै रमाउन थालेँ ।
त्यति सुविधा सम्पन्न रिसोर्ट हुँदा पनि बाबा प्रायः घरै आउनुहुन्नथ्यो । घरमा आउँदा पनि रक्सीकै तालमा आउने र आमासँग झगडा गर्ने गर्नुहुन्थ्यो । हुँदा हुँदै आमालाई हात हाल्ने र पिट्नेसम्मको काम गर्न थाल्नुभो । आन्टी सबै नाटक हेरेरै बस्ने, केही नबोल्ने । यसरी बाबा र आमा दुवैजना आन्टीको जालमा पर्नुभो ।
घर, घरजस्तो नभएर डान्सबार र मसाज सेन्टर जस्तो बन्यो । घरमा नयाँ–नयाँ केटीहरू देखिन थाले । बाबालाई आमा र आन्टीले पनि पुगेन अनि आमाकै अगाडि केटीहरूसँग रासलीला देखाउन थाल्नु भो । आमा एकवर्ष जति त बाबाको त्यो चर्तिकला हेरेरै बस्नु भो । त्यसपछि एक दिन म घरमा नभएको मौका पारेर आमा त्यो घर छाडेर पेरिस जानुभ’को हो । आमाले त्यसरी अमेरिका त्याग्नु भो । कहिलेकाहीँ तीन चार महिनामा आमा मलाई भेट्न भनेर आउनु हुन्थ्यो, अनि केही दिन बसेर जानुहुन्थ्यो । आमाले बाबालाई धेरै चोटि सम्झाउने कोसिस गर्नुभो । बाबालाई पेरिस पनि लान खोज्नुभो तर आमाको केही सीप नचलेपछि बाबालाई माया मारेर जानुभो । अहिले आमा पेरिसमा पहिलेकै व्यापार चलाएर बसिरहनु भ’को छ ।
हाम्रो सानो र सुखी परिवार बिगारेर आन्टीले के पाउनुभो कुिन्न ! मैले अहिलेसम्म बुझ्न सकेको छैन । आमालाई खेदाएर खै कुनै सन्तान पनि जन्माउनु भ’को छैन । सायद नभएर पनि होला ! रहर त गरेकै हुन् । जुनदिन आमाले घर छाडेर जानुभो त्यो दिनबाट आन्टीले मलाई धेरै माया गरेझैं गर्नुहुन्छ । सायद आन्टीले बाबालाई लोग्ने बनाए जसरी नै मलाई पनि छोरो बनाउन खोज्नु भ’को होला । आन्टीले आमाको बारेमा भने कहिल्यै नराम्रो कुरा गर्नु भएको छैन । बाबालाई भने भन्न मिल्ने नमिल्ने सबै भन्नुहुन्छ । आमाको भने गुनगान नगरेको दिनै हुन्न । नाटक त गर्न सक्ने नै हुन् । मलाई अबदेखि आफ्नै मामू सम्झनु भन्दै मेरो अगाडि आँसु खसालेर रुनुभो । त्यहि दिनबाट आन्टी मामू बन्नु भ’को हो । अहिले तिमी जसलाई मामू भन्छ्यो नि ! यी त्यही आन्टी हुन् ।
आमा अब कहिल्यै अमेरिका आउनु हुन्न रे ! मलाई भेट्न मन लागे र मसँग बस्न मन लागे पेरिस आएस् बाबु, भन्दै आमा अन्तिम चोटि रुँदै–रुँदै जानुभो । मलाई पनि यहाँ बस्ने मन छैन । बाबाको लीला देखेर विरक्त लाग्छ । पढाइ सकिए पछि तिमी र म पनि पेरिस जानुपर्छ, अनि उतै आमासँगै बसौँला ।”

No comments

Powered by Blogger.