Saturday, January 13, 2018

हुलाकी सडकमा अनियमितता


बर्दिया – जिल्लामा हुलाकी सडक निर्माण कार्यले पछिल्लो समय तीव्रता पाए पनि ठेकेदार र आयोजना सम्बद्ध अधिकारीको मिलेमतोमा कमसल सामग्री प्रयोग गरी अनिमियतता गरेकोे पाइएको छ। 
मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगरेको ठहर प्राविधिक टोलीले गरेपछि अनिमियतताको  तथ्य खुलेको हो ।
२६ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको मधुवन नगरपालिका–८ देखि नेपाल–भारत सीमामा पर्ने मुर्तिहासम्म १८ किलोमिटर सडक मापदण्डविपरीत छ । यस्तै ढोढरी–भुरिगाउँ र ढोढरी–राजापुर गरी ७९ करोड रुपैयाँ लागतमा हुलाकी सडक निर्माण हुँदैछ।
 
ठेकेदारले मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगरेको प्राविधिक टोलीको ठहरपछि अनियमितता पुष्टि भएको हो ।
सडकको तीनै खण्ड निर्माणको जिम्मा पप्पु, आशिष र शर्मा जेभी कम्पनीले पाएको छ। 
गुलरिया नगरपालिकाभित्र पर्ने हुलाकी सडकमा मापदण्डविपरीत काम भइरहेकोे मेयर मुक्तिनाथ यादवले बताए । ‘सडकमा प्रयोग गरिएका निर्माण सामग्री आँखैले देखेर जो कोहीले पनि मापदण्डविपरीत रहेको थाह पाउँछ’, उनले नागरिकसँग भने, ‘सडक पटानीदेखि  थिकनेससम्म मापदण्डविपरीत छ।’
नगरपालिकाको प्राविधिकसहितको टोलीले पटकपटक अनुगमन गरेको बताउँदै यादवले निर्माणक्रममा भएको त्रुटि सच्याएर काम अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरे । ‘मैले आयोजना प्रमुखलाई त्रुटि सच्याइदिन आग्रह गरेको छु’, उनले भने, ‘काम छिटोछरितो गर्ने नाममा गुणस्तरमा आँखा चिम्लनु भएन।’
सडक पटानी गर्नेक्रममा ५ देखि २० किलोको ढुंगा प्रयोग गरेको पाइएको छ। सडक पटानी गर्दा ढुंगा (गिटी) को आकार ७० एमएम र माटो १५ देखि २० प्रतिशत प्रयोग गर्ने मापदण्ड तोकिएको छ । तर, सडकमा ५० प्रतिशत माटो र गिटीको ठाउँमा ढुंगा राखेको देखिन्छ। 
अनुगमनक्रममा  गिटीको सट्टा ठूल्ठूला ढुंगा र माटोको प्रतिशत पनि मापदण्डविपरीत प्रयोग गरिएको भेटिएको नगरपालिकाका प्राविधिक रमेश गौतमले बताए। 
बर्दियामा हुलाकी सडकलाई तीन खण्डमा बाँडेर निर्माण भइरहेको छ । एक वर्षअघि तत्कालीन भौतिक पूर्वाधार यातायात मन्त्री रमेश लेखकले हुलाकी सडकका तीनवटै खण्ड निर्माण शिलान्यास गरेका थिए । काममा देखिएको तीव्रताले सडक बन्नेमा विश्वस्त भएका स्थानीय  गुणस्तरहीन सामग्री प्रयोग गरिँदा भने निराश छन्। 
चाल्ने मेसिन बिगँ्रदा सडक पटानीक्रममा  राखिने माटो र ढुंगाको मात्रामा केही सन्तुलन नमिलेको साइड इन्जिनियर दीपनारायण साहले बताए । ‘मापदण्डविपरीत प्रयोग भएका निर्माण सामग्री हटाउन थालेका छौं’, उनले भने। 
राजापुर–ढोढरी, गुलरिया–ढोढरी र ढोढरी–भुरिगाउँको कुल दूरी ५७ किलोमिटर छ ।  सुरुमा भारत सरकारको रुचिअनुसार नै बन्ने भनिएको हुलाकी सडकको काम वर्षोसम्म हुन नसकेपछि  नेपाल सरकारले हुलाकी सडक आयोजनामार्फत टेण्डर आह्वान गरेर काम अघि बढाएको हो ।  सन् २००४ मा भारत सरकारले हुलाकी राजमार्ग निर्माण गर्न प्रारम्भिक अध्ययन सुरु गरेको थियो । त्यतिखेर दुवै देशका सरकारी अधिकारीबीच भएको सम्झौताअनुसार पहिलो र दोस्रो चरणमा गरी उत्तर–दक्षिण जोड्ने गरी विभिन्न खण्ड–खण्डमा सडक बनाउने भनिएको थियो । जसअनुसार बर्दियामा तीन खण्ड परेको  थियो । हुलाकी राजमार्ग आयोजनाका अनुसार २७ जुन २००६ मा भारत सरकारले उक्त सडक निर्माणका लागि विस्तृत अध्ययन सकेको थियो । विस्तृत अध्ययन सकेलगत्तै पुनः दुई देशबीच भएको सम्झौतामा राजमार्गको डिजाइन, सुपरीवेक्षण र निर्माणमा लाग्ने सबै खर्च भारतले बेहोर्ने तथा जग्गा अधिग्रहण, सडकमा परेका रुख हटाउने र सम्पूर्ण पुलको निर्माणसम्बन्धी काम नेपाल सरकारले गर्ने उल्लेख थियो । तर, लामो समयसम्म पर्खंदा पनि राजमार्ग निर्माण सुरु भएन । भारतीय पक्षले छनोट गरेका ठेकेदार भागेपछि काममा बाधा पुग्यो। 
बर्दियाम तीनवटै सडक खण्ड निर्माणले तीव्रता पाएको हुलाकी सडक आयोजना प्रमुख शौरभ बज्राचार्यले  जानकारी दिए । ‘समयसीमाभिै काम सम्पन्न गर्ने लक्ष्य राखेर काम अघि बढेको छ’, उनले भने । उनले तोकिएको मापदण्डअनुसार काम नभएको भन्दै ठेकेदार कम्पनीलाई पत्राचार गरेको बताए।
काम थालेको ३० महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। 
मूल ठेकेदारले पेटी ठेकेदारको भरमा सडक निर्माण गराइरहेको अवस्था छ। आयोजनाबाट तीन खण्ड निर्माण गर्ने जिम्मा शर्मा, पप्पु र आशिष जेभी कम्पनीले पाएको हो। जोइन्ट भेन्चरको  कम्पनीले सडक ठेक्का पाएपछि निर्माणका लागि भने खण्ड–खण्ड छुट्याएर पेटी ठेकेदारलाई जिम्मा दिइएको छ । पप्पु र आशिषले आफ्नो भागको कामको जिम्मा पेटी ठेकेदार गणपति र अनेस्ट कन्स्ट्रक्सनलाई दिएका छन्। पेटी ठेकेदारलाई कामको जिम्मा लगाइएकाले मापदण्डअनुसार हुन नसकेको आयोजनाका एक प्राविधिकले बताए। ‘धेरै कुरामा मुख्य जिम्मा पाएकालाई थाहा हुँदैन’, ती प्राविधिकले भने, ‘समन्वय अभावले समस्या देखिएको छ ।’ पप्पुको काम जिम्मा लिएको गणपतिका साइड इन्जिनियर दीपनारायण साहले भने,  ‘काम गर्दा कमीकमजारी हुँदैनहुने कुरा त भएन । प्राविधिक कारणले पटानको क्रममा भएका कमजोरीलाई हामी सच्याइरहेका छौं।’ 
जिल्ला सदरमुकाम गुलरिया र मधुवन नगरपालिकाका स्थानीयले निर्माणाधीन सडकको गुणस्तरमा ध्यान दिन खबरदारी गरेका छन ।  सडक निर्माणक्रममा गुणस्तरमा ध्यान नदिएको भन्दै खबरदारी गरिएको मेयर यादवले बताए । हुलाकी सडक निर्माणले जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने स्थानीयको भनाइ छ।

प्रदेश प्रमुखका लागि यी हुन् मधेशका दावेदारहरु

काठमाडौं : सरकारले राजनीतिक सहमती र आपसी भागबण्डाका अधारमा नियुक्त गर्ने तयारीमा रहेका प्रदेश प्रमुखहरुका लागि बिभिन्न नामहरु प्रस्तूत हुन थालिएका छन् । प्रदेश नम्बर २ अन्तरगत प्रदेश प्रमुखका लागि राष्ट्रिय जनता पार्टी सहित बिभिन्न राजनीतिक दलहरुले समेत नाम पाठाईसकेका छन् ।
सरकारले यसअघि सबै दलसंग संभावित नामहरु प्रस्ताव गर्न अहवान गरेको थियो । जसअनुसार राजपाले प्रदेश नम्बर २ का लागि उमाकान्त झाको नाम सिफरिस गरेको छ । झा पूर्व सचिव तथा अन्तरिम सरकारका तत्कालिन मन्त्री समेत हुन । हाल उनी राजपामा बिभिन्न महासचिवहरु मध्ये एक महासचिव पनि हुन् भने राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी समेत हुन् ।
[FBW]
त्यस्तै संघीय समाजवादी फोरमले रत्नेश्वर लाल कायस्थको नाम सिफरिस गरेको छ । उनी सरकारका पूर्व सचिव र पार्टीमा राष्ट्रिय सचिव समेत फोरमका प्रवक्ता समेत हुन् ।
त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट बिमलेन्द्र निधिले लोकेन्द्र मल्लिकको नाम सिफारिस गरेको छ । उनी पूर्व न्यायाधीश हुन भने निधिका आफन्त समेत हुन ।
यत्ति जना मध्ये प्रदेश नम्बर २ को प्रमुख को ह्ने हो त्यो भने हेर्न बाँकि रहेको छ ।

नेपालका कम्युनिष्टहरु साँच्चै ‘कम्युनिष्ट’ नै हुन् त ?

कुनै पनि राजनीतिक विचारधारा अर्ग्यानिक छैनन्


कम्युनिष्ट विचार वास्तवमा के हो ? नेपालका कम्युनिष्टहरु ‘नामले मात्र कम्युनिष्ट’ हुन कि साँच्चै ‘कम्युनिष्ट’ हुन् भनेर अझ राम्रो बुझ्न विश्व राजनीतिमा कस्ताकस्ता विचारधाराहरु छन्, तिनीहरुका बीच केके समानता वा भिन्नता छ भनेर बुझ्न आवश्यक हुन्छ ।
विश्व राजनीतिमा भएका विचारधारालाई सरसर्ती १० भागमा बाँड्न सकिन्छ । ती हुन् (उदारवाद (लिवरलिज्म), सम्वर्द्धनवाद (कन्जर्भेटिज्म), साम्यवाद (कम्युनिज्म ), समाजवाद (सोसलिज्म), राष्ट्रवाद ( नेशनालिज्म), फासीवाद (फासिज्म ), धार्मिक कटट्रतावाद (फन्डामेन्टालिज्म), संघवाद (फेेडेरालिज्म) जैविकतावाद (इकोलजिज्म), अराजकतावाद (अनार्किज्म) ।
‘लिबरल’ शब्द ल्याटिन भाषाको ‘लिवर’ बाट बनेको मानिन्छ । यसको अर्थ हुन्छ- ‘फ्री’ अर्थात् स्वतन्त्र । यो शब्दको प्रयोग पुनर्जागरणकालमा नै प्रारम्भ भइसकेको थियो । विशेषतः कला क्षेत्रमा सिर्जनशील धारलाई ‘लिबरल आर्ट’ भन्ने चलन थियो । भनिन्छ- सन १८१२ मा पहिलो पटक स्पेनमा ‘लिबरल’ शब्दको राजनीतिक गरिएको थियो । लिबरल दर्शनको मुख्य पक्ष फ्रिडम अर्थात् राजनीतिक स्वतन्त्रता हो । बेलायत दार्शनिक, आर्थिक र राजनीतिक- तीनवटै पक्षबाट उदारवादी विचारधाराको जननी मुलुक हो । पछि यसका मुख्य अनुयायी फ्रान्स र अमेरिका बन्न पुगे ।
विश्वका तीन ठूला राजनीतिक क्रान्तिहरु वेलायतको गौरवमय क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्राम- यही विचारधारासँग जोडिएका थिए । दर्शनशास्त्रीय हिसाबले जोन लक, अर्थशास्त्रीय हिसाबले आडम स्मिथ र राजनीतिक हिसाबले हृवीङ्ग पार्टीलाई बेलायतमा उदारवादको आधारशिला मान्न सकिन्छ ।
उदारवादी विचारधाराका मुख्य दुई तत्वहरु छन् । फ्री म्यान (स्वतन्त्र व्यक्ति ) र फ्री मार्केट (स्वतन्त्र बजार) । सँगसँगै यसमा केही सहयोगी सिद्धान्तहरु जोडिएर आउँछन् । जस्तै- व्यक्तिको सार्वभौमसत्ता, विचार अभिव्यक्ति र संगठनको स्वतन्त्रता, बहुलवादी राजनीति र दलीय स्वतन्त्रता, आबधिक निर्वाचन, निजी सम्पतिको अधिकार, पेशा व्यवसाय छनौट, अबलम्बन र परित्यागको अधिकार, योग्यतातन्त्र, विधिको शासन, शक्तिपृथकीकरण, स्वतन्त्र न्यायलय, सामाजिक विविधताप्रति सहिष्णुता, धार्मिक स्वतन्त्रता अझ कतिपय देशमा धर्म निरपेक्षता आदि ।
एमालेको ओली धार केही हदसम्म फासीवादी विचारबाट प्रभावित देखिन्छ भने माओवादी र प्रचण्ड विचार बहुसांस्कृतिकवादबाट प्रभावित लाग्छ । यिनीहरुको एकतापछि त्यसले कुन धार समात्छ त्यो भने हेर्न बाँकी छ
जसरी लिबरल विचारधाराको मुख्य तत्व ‘स्वतन्त्रता’ हो, त्यसरी नै सम्बर्द्धनवादी (कन्जर्भेटिभ ) विचारधारको मुख्यतत्व ‘परम्परागत संस्कृति, समाजको मौलिक चरित्र र नैतिक मूल्यको संरक्षण’ हो । राजनीतिक क्रान्ति वा सामाजिक परिवर्तनहरुले समाजको परम्परागत सदभाव र मर्यादा, नैतिक मूल्य, पदसोपानक्रम र जीवनपद्दतिलाई खलल नपुर्याओस भन्ने चिन्ताबाट सम्बर्द्धनवादी विचारधाराको जन्म भएको हो । सम्बर्द्धनवादीहरुमा प्रत्यक्ष/परोक्ष दैवीशक्तिको सिद्धान्तमा विश्वास हुन्छ । विशेषतः वेलायती गौरवमय क्रान्तिको सामाजिक प्रभावबाट आत्तिएका कुलिनहरुले यस्तो चिन्तनलाई अगाडि बढाए । वेलायती राजनीतिमा उनीहरुलाई अनौपचारिकरुपमा ‘टोरी दल’ भन्ने गरिन्थ्यो । सन् १८३० देखि उनीहरुले घोषितरुपमा नै ‘कन्जर्भेटिभ पार्टी’ भन्न थाले ।
अमेरिकाका रिपब्लिकनहरु धेरै हदसम्म सम्बर्द्धनवादी विचारको नजिक मानिन्छन् । क्यानडामा सन् १८३४ मा ‘क्यानडाको टोरी’ भनिने ‘लिबरल कन्जर्भेटिभ पार्टी अफ क्यानडा’ बनेको थियो । उन्नाइशौं शताब्दिमा युरोपमा सम्बर्द्धनवादी विचारधारको प्रभावमा ‘क्रिश्चियन डेमोक्र्याटिक’ पार्टीहरु गठन गर्ने लहर नै चल्यो । त्यसमध्ये जर्मनीको ‘क्रिश्चियन डेमोक्र्याटिक पार्टी’ प्रभावशाली र सफल पार्टी मानिन्छ ।
सम्बर्द्धनवादी विचारधाराको प्रभाव युरोप र क्रिश्चियन समुदाय मात्र देखिएको हैन, मुस्लिम, बुद्धिष्ट, हिन्दू समाज र राष्ट्रहरुमा पनि यसको गहिरो प्रभाव छ । विश्वका सबैजसो मुस्लिम जनसंख्या बहुल देशले संविधानमा नै ‘इस्लामिक राष्ट्र’ घोषण गरेकाछन ।
मध्यपूर्वमा भएका इस्लामिक क्रान्तिहरु विशेषतः इरानमा खुमेनीको इस्लामिक क्रान्ति इस्लामिक सम्बर्द्धनवादकै अभिव्यक्ति थियो । जापानको ‘लिबरल डेमोक्र्याटिक पार्टी’ को जन्म हुनुमा ‘जेन बुद्धिज्म’ आधारित चिन्तनको गहिरो प्रभाव थियो ।
तिब्बतको ‘लामा राजनीति’ ‘लामा बुद्धिज्म’ आधारित सम्बर्द्धनवादको प्रतीक हो । इजरायली राजनीतिमा रहेको पालेष्टाइन विरोधी भावना यहुदीवादी सम्बर्द्धनवादमा आधारित देखिन्छ । भारतको जनसंघ तथा शिवसेना राजनीति, विजेपीको उदय र नेपालमा राप्रपाको अस्तित्वआदि सम्बर्द्धनवादी विचारधाराकै उदाहरण हुन ।
सम्बर्द्धनवादी विचारधारामा सामाजिक बेथिति परम्परागत मूल्य, मान्यता, संस्कार र संस्कृति छोडेका कारणले सिर्जना भएको हो । समाज हिजो ठीक थियो । स्वतन्त्रता खोज्ने, समानता खोज्ने नयाँ चिज खोज्ने नाममा पुराना चिजहरुलाई भत्काइए । त्यही भएर समस्या आयो । समाजको मौलिक चरित्र, पुराना संस्था, मूल्यमान्यता, संस्कार र प्रचलनमा फर्किनु पर्दछ, समाज आफै राम्रो हुन्छ भन्ने सम्बर्द्धनवादीहरुको सोच हुने गर्दछ ।
सम्बर्द्धनवाद आफैंमा एक सिर्जनशील विचारधारा हैन । यो क्रान्ति र परिवर्तनको भयबाट उत्पन्न हुने ‘प्रतिक्रियात्मक विचार’ भएको हुँदा यसलाई प्रतिक्रियावादी तथा प्रतिगामी विचार पनि भनिन्छ ।
विश्व राजनीतिको तेस्रो शक्तिशाली विचारधारा साम्यवाद हो । यस विचारधाराकै बारेमा यो लेख केन्द्रित भएको हुँदा यहाँ लामो चर्चा गरिएको छैन । यति भनौं कि जसरी उदारवादको मुख्यचिन्तन तत्व ‘स्वतन्त्रता’, सम्बर्द्धनवादको ‘परम्पराको संरक्षण’ हो, त्यसै गरी कम्युनिष्ट विचारधाराको मुख्यचिन्तन तत्व ‘आर्थिक समानता’ हो । मानव समाजको उत्पति निजीसम्पतिविहीन र वर्गविहीन अवस्थाबाट भएको थियो, कुनै दिन फेरि निजीसम्पतिविहीन र वर्गविहीन अवस्थामा फर्किने छ भन्ने विश्वास नै साम्यवादी विचारधाराको मुख्य विश्वास हो । कम्युनिष्ट विचारधारामा साम्यवादबाहेक सबै शासन तथा समाजव्यवस्था शोषणमा आधारित हुन्छन् भन्ने विश्वास गरिन्छ ।
नेपालका राजनीति चिन्तक, दल र विचारधाराहरु मात्रै शुद्ध रहन सम्भव थिएन । जस्तो कि- नेपालका कम्युनिष्टहरु साम्यवाद, उदारवाद, समाजवाद र राष्ट्रवादको समिश्रण जस्तो लाग्छ
चौथो समाजवादी (सोसलिष्ट ) विचारधारा हो । यो विचारधाराको मुख्य चिन्तनतत्व ‘समानता र स्वतन्त्रता अभिभाज्य छन’, स्वतन्त्रताको अभिव्यक्तिका रुपमा ‘लोकतन्त्र’ र समानताको अभिव्यक्तिका रुपमा ‘समाजवाद’ अक्षुण हुन्छन् भन्ने हो । व्यक्ति र समाज अविभाज्य छन् । व्यक्तिविना समाज र समाजविना व्यक्ति हुँदैन । तसर्थ व्यक्तिवाद र सामुहिकताबीचको प्रतिद्वन्द्वीता अर्थहीन छ । आर्थिक हैसियतविना राजनीतिक स्वतन्त्रता प्राप्त हुँदैन । राजनीतिक स्वतन्त्रताविना आर्थिक हैसियत प्राप्त हुँदैन । तसर्थ खुशी र सुखी मानव समाज निर्माण गर्न आर्थिक समानता र राजनीतिक स्वतन्त्रता पनि अभिभाज्य छन् । यी दुईबीच सन्तुलन नमिल्दा समाजमा बेथिति पैदा हुन्छ । तसर्थ राजनीतिक स्वतन्त्रताका लागि लोकतन्त्र र आर्थिक अवसरका लागि समाजवाद सँगसँगै हुनुपर्दछ ।
सोसलिष्ट शब्दको पहिलो प्रयोग सन् १८२७ देखि वेलायतबाट शुरुवात भएको विश्वास गरिन्छ । सन् १८३० पछि वेलायतका रवर्ट ओवेनवादी र फ्रान्सका सेन्टसाइमनवादीहरुले आफूलाई औपचारिक रुपमा नै ‘सोसलिष्ट’ भन्न थाले । ‘सोसलिष्ट’ शब्द ल्याटिन भाषाको ‘सोसियर’ बाट बनेको विश्वास गरिन्छ, जसको, अर्थ हुन्छ-संयुक्त वा साझेदारी ।
विश्वको पहिलो समाजवादी पार्टी कुन हो, त्यो प्रष्ट छैन । समाजवादी धारमा दलका विभिन्न नामहरु प्रयोग गर्ने प्रचलन थियो । ‘लेवर पार्टी’, ‘वकर्स पार्टी’, ‘सोसलिष्ट पार्टी’ ‘लेफ्ट-डेमोक्र्याट पार्टी’,’लिबरिटालियन पार्टी’ ‘सोसलिष्ट रिभोल्यूसनरी पार्टी’, ‘सोसल-डेमोक्र्याट पार्टी’ ‘सोसलिष्ट युनिटी एण्ड सोलिडारिटी पार्टी’ ‘लिबरल सोसलिष्ट पार्टी’ आदि नामहरु यस्ता पार्टीले प्रयोग गरेको पाइन्छ ।
विश्व राजनीतिको पाँचौं विचारधारा राष्ट्रवादी (नेशनालिष्ट) विचारधारा हो, जसले साम्राज्यवाद तथा उपनिवेशवाद विरोधी स्वाधिनता आन्दोलनलाई प्रेरित गरेको देखिन्छ । यो विचारधाराको मुख्य चिन्तनतत्व ‘देशप्रेम’, ‘राष्ट्रियता’ वा ‘राष्ट्रवाद’ हो । देशको स्वाधिनता, स्वतन्त्रता र मुक्तिलाई राष्ट्रवादी आन्दोलनको मुख्य अभिप्रेरणा मानिन्छ । यसले राष्ट्रको स्वाधिनता विना नागरिकको स्वतन्त्रता कायम हुन नसक्ने विश्वास गर्दछ ।
नेपालका राजनीति चिन्तक, दल र विचारधाराहरु मात्रै शुद्ध रहन सम्भव थिएन । जस्तो कि- नेपालका कम्युनिष्टहरु साम्यवाद, उदारवाद, समाजवाद र राष्ट्रवादको समिश्रण जस्तो लाग्छ । त्यसमा पनि एमालेको ओली धार केही हदसम्म फासीवादी विचारबाट प्रभावित देखिन्छ भने माओवादी र प्रचण्ड विचार बहुसांस्कृतिकवादबाट प्रभावित लाग्छ
ल्याटिन भाषाको ‘नेस्की’- अर्थ हो -जन्मनु । ‘न्यासियो’- को अर्थ ‘जन्मले वा जन्मस्थानले एकै प्रकारका मान्छे हुनु’ र ‘नेशन’ को अर्थ हो- जन्म वा जन्मस्थानका कारण एकै प्रकारका भएका मान्छेहरुको समूह । राजनीतिमा ‘नेशनालिज्म’ शब्दको पहिलो प्रयोग सन् १७८९ मा फ्रान्सेली चिन्तक अगस्टिन ब्यारेलले गरेका थिए । फ्रान्सेली राज्यक्रान्तिमा क्रान्तिकारीहरुले ‘हामी फ्रान्सेली जनता’ भन्ने शब्दावली प्रयोग गर्दथे । विस्तारै त्यो भावना ‘हामी जन्मले एक हौं’ ‘भाषा, संस्कृति नियतिले एक हौं’ भन्ने तहमा विकसित भयो । उनीहरुले आफ्नो ‘भूगोल पनि एक बनाउँने’ चिन्तन अगाडि सारे । यसरी ‘महान फ्रान्स राज्य’ को अवधारणा विकास हुँदै जाँदा नेपोलेनिक युद्धको युग आयो ।
नेपोलेनिक युद्धको अवधिमा फ्रान्सले अरु युरोपेली देशहरुमाथि आधिपत्य जमाउन थाल्यो । फलतः आधिपत्य कायम गरिएका देशहरुमा भने स्वतन्त्रता र मुक्तिको चाहना देखा पर्यो । यो अर्को कोणबाट राष्ट्रवादी विचारधाराकै पुनरुत्थान थियो ।
फ्रान्सेलीहरुलाई फ्रान्सको माया छ, फ्रान्स महान लाग्छ भने हामीलाई आफ्नो राष्ट्रको माया छ, हामीलाई हाम्रै राष्ट्र महान लाग्छ । यस्तो सोच फ्रान्सपछि जर्मनी र इटालीमा देखापरेको थियो । इटली र जर्मनीको एकीकरण युरोपेली राष्टवादी आन्दोलनका महत्वपूर्ण घटनाहरु हुन । वेलायती साम्राज्यबाट अमेरिकाको स्वतन्त्रता र नयाँ राष्ट्रको जन्म आफैंमा महत्वपूर्ण घटना थियो ।
यही प्रक्रियामा अनेक साम्राज्यहरुको उदय र ती साम्राज्यबाट मुक्तिको चाहनासंगसंगै अगाडि बढ्दै गए । पहिलो विश्वयुद्धमा जर्मन, आष्ट्रो-हंगेरियन र रसियन साम्राज्यबाट फिनलैण्ड, चेकोस्लोभाकिया, हंगरी, पोलैण्ड र युगोस्लाभियाको मुक्तिलाई महत्वपूर्ण राष्ट्रवादी आन्दोलनको रुपमा हेरिए । दोस्रो विश्वयुद्धताका राष्ट्रवादी विचारधाराको अर्को लहर देखापर्यो । अंग्रेज साम्राज्यवाट भारत र विभिन्न अफ्रिकी मुलुकहरुको स्वतन्त्रता तथा जर्मन र जापानको पराजय यसका महत्वपूर्ण उदाहरणहरु थिए ।
राष्ट्रवादी विचारधाराको सीमा तय गर्न सजिलो भने छैन । कस्तो र कत्रो राष्ट्रको उदयलाई स्वतन्त्रता भन्ने, कत्रो र कस्तो राष्ट्रको उदयलाई विभाजन वा पृथकता भन्ने ? यो प्रश्नको उत्तर कसैका लागि सहज छैन । वेलायती साम्राज्यबाट भारतको स्वतन्त्रता हो भने पाकिस्तान वा वंगलादेशको स्थापना चाहिँ किन विभाजन हो ? इन्डोनेसियाबाट इष्ट टिमोरको स्वतन्त्रता हो, मलेसियाबाट सिंगापुरको स्वतन्त्रता हो भने भने ठीक यस्तै स्वतन्त्रता श्रीलंकामा तमिल, भारतमा कस्मिर, चीनमा तिब्बत, क्यानाडामा क्यूवेक र स्पेनमा क्याटालोनियाले किन पाउन नहुने ? सोभियत संघ र युगोस्लोभाकियाको विभाजन पृथकता हो वा नवराष्ट्रियता ? यी प्रश्नहरु अनुत्तरित छन् ।
प्रजातन्त्र र साम्यवाद मिसायो भने प्रजातान्त्रिक समाजवाद हुन्छ भन्ने वीपी कोइरालाको विचार थियो । यो मूलतः उदारवाद र साम्यवादलाई समिश्रण गर्ने चिन्तन थियो । नेपालका कन्जर्भेटिभहरु राजतन्त्र र हिन्दूत्वसँग राष्ट्रवादलाई मिसाउन खोज्छन्
विश्वराजनीतिको छैठौं विचाराधारा ‘फासिज्म’ शब्द ल्याटिन भाषाको ‘फासेस’ बाट बनेको मानिन्छ । यसको अर्थ रोमन साम्राज्यको समयमा प्रयोग गरिने एउटा विशेष चिन्ह ‘फलामे डन्डीको विटोमा एउटा बञ्चरो बाँधिएको’ चिन्ह भन्ने बुझिन्छ । इटालियन भाषामा यसलाई ‘फासियो’ भनिथ्यो । यो चिन्हले रोमन साम्राज्यको युगमा शासकको शक्ति, प्राधिकार र एकत्वलाई बुझाउँथ्यो । आधुनिक युगमा इटालीमा वेनिटो मुसोलिनीले यही चिन्ह प्रयोग गरे । जर्मनीमा हिटलरको नाजिवाद र स्पेनमा जनरल फ्रान्कोको शासन फासीवादी शासनकै विस्तार मानिन्छन् ।
फासीवादी चिन्तनको स्रोत एकीकरण, प्राधिकार र राष्ट्रवादको एकत्व हो । युरोपमा यी शासनसत्ताहरु पहिलो विश्वयुद्धको पृष्ठभूमिमा जन्मिएका थिए । पहिलो विश्वयुद्धमा यी देशहरुको पराजय र असमान सन्धी सम्झौताले यहाँका जनता र सेना निराश थिए । उनीहरु कुनै नयाँ प्रकारको राजनीतिक शक्तिको खोजी गरिरहेका थिए । त्यही क्रममा फासीवादी सत्ताहरु अस्तित्वमा आए ।
राष्ट्रियता र रक्तसम्बन्ध यस चिन्तनका अनौपचारिक पक्ष हुन् । फासीवादी चिन्तन पद्धतिमा कुनै पनि राज्य वा समाज निश्चित राष्ट्रियताको आधारमा बनेको हुन्छ । त्यस्तो राष्ट्रियताको निर्माणका लागि केही मुख्य जाति, नश्ल तथा भाषिक समुदायले ठूलो भूमिका गरेको हुन्छ । कुनै मुख्य जाति नश्ल वा भाषिक समुदायको नेतृत्वदायी भूमिका विना राज्य र राष्ट्रको गठन, संरक्षण र विकास गर्न सकिन्न । त्यहाँ भएका अन्य जातीय, भाषिक तथा सांस्कृतिक समुदायहरु मुख्य समुदायसँग विस्तारै अन्तर्घुलित हुँदै जान्छन् । प्रकारान्तले राज्य ‘राष्ट्रिय राज्य’ बन्न पुग्छ ।
यस प्रक्रियामा अल्पसंख्यक समूह वैवाहिक प्रक्रिया, रक्तसम्बन्ध, भाषिक तथा सांस्कृतिक अन्तर्घुलनमा सहयोगीको भूमिकामा हुनुपर्दछ । यदि उनीहरु सहयोगी भूमिका गर्न इच्छुक छैनन् भने उनीहरुमाथि दमन गर्नु स्वभाविक आवश्यकता बन्न पुग्दछ । श्रेष्ठ जातिहरुले नै श्रेष्ठ राज्य, श्रेष्ठ साम्राज्य र श्रेष्ठ सभ्यता निर्माण गर्न सक्दछन् भन्ने मान्यतालाई फासीवाद भनिन्छ । फासीवादी चिन्तन प्रकारान्तले ‘अन्धराष्ट्रवाद’ र अल्पसंख्यकहरुको ‘जातिहत्या’सम्म पुग्ने गरेको देखिन्छ । दोस्रो विश्वयुद्धमा मुसोलिनी र हिटलरको हारसँगै यो विचारधारा पराजित भएको मानिन्छ ।
राजनीतिक विचारधाराका क्षेत्रमा सातौं विचारधारा धार्मिक कट्टरतावाद (फन्डामेन्टालिज्म) हो । यिनीहरुको बुझाइमा राज्यको आधार कुनै खास धर्म हो । विपरीत धर्मसँगको प्रतिरोधविना धर्म रक्षा र विस्तार गर्न सकिन्न । तसर्थ धर्मयुद्ध स्वाभाविक र जायज हो । निश्चित धार्मिक भावनाबाट अभिप्रेरित राज्य र समाज नै नैतिक रुपमा बलियो हुन्छ । त्यस्तो राज्यले नै विकास र प्रगति गर्न सक्छ ।
अफगास्तिनको तालेवान, मध्यपूर्वको आइएसआइएस यसका उदाहरणहरु हुन । कतिपयले भारतको शिवसेनालाई पनि हिन्दू फेन्डामेन्टालिष्टका रुपमा हेर्छन् ।
आठौं विचारधारा-संघीयतावादी हो । तर, नेपालका सन्दर्भमा संघीयतावादभन्दा जे बुझिन्छ, विश्वराजनीतिमा ठीक उल्टो बुझिन्छ । अमेरिकाको स्थापना हुँदा केन्द्रलाई बलियो बनाउन चाहनेहरुलाई ‘फेडेरालिष्ट’ भनिथ्यो र प्रदेशलाई बलियो बनाउन चाहनेहरुलाई ‘एन्टी-फेडेरालिष्ट’ । तर, नेपालमा भने प्रदेशको रचना गर्न चाहनेहरुलाई संघीयतावादी भनियो । यो धारको राजनीतिलाई पहिचानवादी पनि भन्ने गरेको पाइन्छ । तर, मेरो विचारमा यो धारलाई बहुसांस्कृतिकतावादी (मल्टिकल्चरलिष्ट ) भन्नु बढी उपयुक्त हुन्छ ।
किनकि यो विचारअनुसार कुनै पनि समाज वा राज्य उत्तिकै समरुप हुँदैन । जाति, भाषा, धर्म, संस्कृति, इतिहास, भुगोलको विविधता र मनोविज्ञानका हिसाबले राज्य बहुसांस्कृतिक बन्न पुग्छ । ती सबै जातीय, भाषिक र सांस्कृतिक समूहहरुको कूलयोग नै राज्य वा समाज हो । सबैको योगदानबाट राज्य वा समाज बनेको हुन्छ । त्यस्ता समुदायहरुले आआफ्नो विशिष्टतामा स्वशासन पाउनुपर्छ । समावेशिता हुनुपर्दछ । अन्यथा तिनीहरुको आत्मनिर्णयको अधिकार स्वभाविक आवश्यकता बन्न पुग्दछ । स्वशासन, समावेशिता र आत्मनिर्णयको अभाव नै पृथकतावादको कारण बन्न पुग्दछ । एउटै राज्य वा देशभित्र विविध संस्कृतिका कल्स्टरहरुको संरक्षणबाट राज्यको सौन्दर्य बृद्धि भई त्यो फूलवारीजस्तो बन्न पुग्छ भन्ने धारणा राखिन्छ ।
नवौं-जैविकतावादी (इकोलजिष्ट) विचार हो । यो विचार युरोपको गि्रन पार्टी र वातावरणवादी आन्दोलनबाट भएको हो । नेपालमा पनि यही अवधारणामा ‘हरियाली पार्टी’ बनाइयो । तर, खासै चलेन । यस विचारधारामा मानवीय दुःखको कारण वातावरणीय विनाश हो ।
तीव्र आर्थिक विकासको लोभमा हुने तीव्र औधोगिकीकरण र तीव्र औधोगिकीकरणले सिर्जना गर्ने प्राकृतिक स्रोतसाधनको दोहन, प्रदुषण नै समस्याका कारण हुन् । प्रकृति स्वयंमा सन्तुलनमा हुन्छ । मान्छेले त्यसको सन्तुलन र सौन्दर्य नष्ट गर्छ । यसलाई रोक्नु नै बेथिति र मानवीय दुःखलाई रोक्नु हो । वातावरणीय संरक्षण, दिगो विकास, भावी पुस्ताका लागि प्रकृति हन्तान्तरण, सुशासनका लागि लोभहीन प्राकृत जीवन पद्धति यही विचारधाराका योगदान हुन् ।
दशौं-अराजकतावादी (अनार्किष्ट) विचारधारा हो । यो विचारधारा युरोपेली समाजवादी आन्दोलनको प्रारम्भमा निकै शक्तिशाली थियो । रुसी चिन्तक मिखायल बाकुनिन र जर्मन राजनीतिज्ञ फर्डिनेन्ड लासालले यो विचारलाई विश्वराजनीतिमा भित्र्याएका हुन् ।
अराजकतावादी चिन्तनमा धार्मिक सामाजिक संस्था वा राज्यको अस्तित्व स्वयंमा खराबीको कारण हो । प्रकृतिले आफ्ना नियमहरु आफैं बनाएको हुन्छ । त्यो आफैंमा पर्याप्त छ । पशु जगतको कुनै राज्य हुँदैन । पंक्षीलाई जुनसुकै देशमा जान कुनै भिसा, पासपोर्ट लाग्दैन । मान्छे पनि प्रकृतिले सिर्जना गरेको प्राणी हो । ऊ चराझैं सामाजिक तथा राजनीतिक संस्थाहरुको नियन्त्रणबाट स्वतन्त्र हुनु पर्दछ, सबै चिज आफै ठीक हुन्छ । जब राज्य ध्वस्त हुन्छ, मान्छेलाई दमन गर्ने कुनै संस्था नै बाँकी रहँदैन । तसर्थ क्रान्तिकारी आन्दोलनको उद्देश्य राज्यलाई ध्वंस्त गर्नु हो ।
यहाँनेर चर्चा गर्न योग्य कुरा के छ भने अबको युगमा यी विचारहरु एक्लाएक्लै बलशाली छैनन् । यी विचारहरु अन्तर्घुलित भएर विभिन्न विचारहरुको जन्म भएको छ । अमेरिकी र भारतीय स्वतन्त्रता संग्राममा उदारवाद र राष्ट्रवादको समिश्रण थियो भने चिनियाँ, भियतनामी क्रान्तिमा साम्यवाद र राष्ट्रवाद समिश्रति भएका थिए । नोर्डिक लगायत पश्चिम युरोपेली मुलुकमा राष्ट्रवाद र समाजवादको समिश्रण छ । बेलायतको लेबोर र अमेरिकाको डेमोक्रयाटिक पार्टीका विचार उदारवाद र समाजवादको समिश्रणबाट बनेका छन् ।
देङपछिको चीनमा साम्यवाद र बजार अर्थतन्त्रको समिश्रणलाई बुझाउन ‘समाजवादी बजार अर्थतन्त्र’ भन्ने नयाँ शब्दाबली प्रयोग गरिएको छ ।
नेपालका राजनीति चिन्तक, दल र विचारधाराहरु मात्रै शुद्ध रहन सम्भव थिएन । जस्तो कि- नेपालका कम्युनिष्टहरु साम्यवाद, उदारवाद, समाजवाद र राष्ट्रवादको समिश्रण जस्तो लाग्छ । त्यसमा पनि एमालेको ओली धार केही हदसम्म फासीवादी विचारबाट प्रभावित देखिन्छ भने माओवादी र प्रचण्ड विचार बहुसांस्कृतिकवादबाट प्रभावित लाग्छ । यिनीहरुको एकतापछि त्यसले कुन धार समात्छ त्यो भने हेर्न बाँकी छ ।
प्रजातन्त्र र साम्यवाद मिसायो भने प्रजातान्त्रिक समाजवाद हुन्छ भन्ने वीपी कोइरालाको विचार थियो । यो मूलतः उदारवाद र साम्यवादलाई समिश्रण गर्ने चिन्तन थियो । नेपालका कन्जर्भेटिभहरु राजतन्त्र र हिन्दूत्वसँग राष्ट्रवादलाई मिसाउन खोज्छन् । पहिचानवादीहरुभित्र राजपाजस्तो उदारवादी र फोरमजस्तो समाजवादी दुबै धार छन् ।
वैकल्पिक राजनीतिको कुरा गरिरहेको नयाँ शक्ति पार्टीले समाजवादभित्रको ‘सोसल डेमोक्रेसी’ लाई समात्न खोजेको प्रतीत हुन्छ । तर, नेपालका सन्दर्भमा साम्यवादी आन्दोलनको योगदानलाई पनि उसले नकारेको छैन । विवेकशील साझा भने ‘पोष्ट मोर्डानिज्म’तिर गइरहेको हो कि जस्तो लाग्छ, जो उपरोक्त १० वटै धारभन्दा केही भिन्न विचारधारा हो । ‘पोष्ट मोर्डानिज्म’ अहिलेसम्म दर्शनको तहमा मात्र छ, त्यसले राजनीतिक आकार लिइसकेको छैन ।
संक्षेपमा भन्नु पर्दा आज कुनै पनि राजनीतिक विचारधारा अर्ग्यानिक छैनन् । यस परिप्रेक्ष्यमा कम्युनिज्मको मौलिक विचार के थियो, नेपालका कम्युनिष्टहरुले कुन प्रवृत्ति समात्ने सम्भावना छ भन्ने र नेपालको वस्तुगत यथार्थले कस्तो विचारधारा माग गरिरहेको छ भन्नेबारे अर्को किस्तामा चर्चा गरिनेछ ।

जनकपुर उद्योग वाणिज्य संघ

जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा विजयी हुनु भएका पदाधिकारीहरु ललित कुमार साह (अध्यक्ष), जितेन्द्र् प्रसाद साह (बरिष्ठ उपाध्यक्ष), सुरेन्द्र कुमार भण्डारी (उपाध्यक्ष), दिपिका राय (महिला उपाध्यक्ष) , जितेन्द्र कुमार महासेठ (महासचिव), विकाश साह (सचिव),अशोक चौधरी (कोषाध्यक्ष) तथा निर्वाचित सम्पूर्ण सदस्स्य ज्यूलाई मेरो तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना ।

हटे माओवादी मन्त्रीहरु


काठमाण्डु । विनाविभागीय माओवादी केन्द्रका मन्त्रीहरुलाई शुक्रवार अध्यक्ष प्रचण्डले फिर्ता बोलाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले लेखेको पत्रमा आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको जनाउ दिएका छन् ।
४महिनादेखि विनागिभागीय मन्त्री रहेर सुविधा लिएका कारण व्यापक आलोचना भईरहेको थियो ।
पार्टी अध्यक्ष प्रचण्डको पत्र  विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले लिएर प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री देउवालाई बुझाए । प्रधानमन्त्री देउवाले उनलाई धन्यवाद भने ।
प्रचण्डको पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गरिएको छ  । ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको गुनासो पत्रमा उल्लेख गरिएको छ ।
प्रचण्डको पत्रमा भनिएको छ, ‘ आजसम्म त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने निर्णयहरु भइरहेको सन्दर्भमा सरकारमा बसिरहनु औचित्यपूर्ण नरहेकाले आजैबाट माओवादी र संयुक्तका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछु ।’

८ वटै जिल्लामा एकै पटक सुरक्षा जाँच


जनकपुरधाम । नेपाल प्रहरीले पहिलो पटक २ नं.प्रदेशको ८ वटै जिल्लामा एकै समयमा सुरक्षा चेकजाँच गरेको छ ।
सुरक्षा व्यवस्था सुदृढ बनाउने क्रममा शुक्रवार पहिलो पटक विहान ११ बजे देखि दिउँसो १ बजे र साँझ ५ बजेदेखि ७ बजे सम्म प्रदेशका  ८ वटै जिल्लामा एकै साथ सुरक्षा चेक  जाँच गरिएको प्रदेश प्रहरी मुख्यालयले जनाएको छ ।
 जिल्लाका सदरमुकाम, सिमानाका, संबेदनशिल स्थान, राजमार्ग आदी स्थान गरी प्रदेश भरी ४ सय स्थानमा सुरक्षा चेक जाँचको व्यवस्था गरिएको र सुरक्षा जाँचको दौरान तत्काल कागज–पत्र साथमा नभएका चारपाङ्ग्रे र दुई पाङ्ग्रे गरी ६ सय १९थान सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । उक्त सुरक्षा जाँचको क्रममा ६ लाख ४ हजार राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।​

सप्तरीको २ सय ७५ परिवारलाई हातेमालो नेपालद्धारा न्यानो कपडा र कम्बल वितरण (फोटो फिचर)

काठमाडौं, ३० पुस । हातेमालो नेपालले तराईमा चलेको चिसो हावा र शितलहर पिडित २ सय ७५ भन्दा बढी परिवारलाई न्यायो लुगा वितरण गरेका छन् । हातेमालो नेपालद्धारा सन्चान गरिएको मायाको चिनो न्यानो उपहार कार्यक्रम अन्र्तगर्त सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ५ मा रहेका गरिब मुसहर, डोम, चमार, मण्डल लगायतका अति विपन्न परिवारलाई न्यायो लुगा वितरण गरेका छन् ।




मधेशि एसोसिएसन इन अमेरिका (मा), कोशिश नेपाल, आइपास नेपाल, समता फाण्डेसन, सार्मथ्य फाण्डेसन, कोड फोर नेपाल लगायतले प्रदान गरेको सहयोगलाई हातेमालो नेपालका टिमले पिडित सम्म पुर्याउन सफल भएका छन् । मधेशि एसोसिएसन इन अमेरिका (मा) ले नगद रकम, कोशिश नेपालले १०० पिस कम्वल, सार्मथ्य फाण्डेसन र कोड फोर नेपालद्धारा १०० पिस कम्बल, आइपास नेपालद्धारा ५० पिस कम्बल, समता फाण्डेसन बाट ३५ पोका पुराना लुगाफाटा तथा हातेमालो नेपालले आफैंले संकलन गरेको १०० पोका भन्दा बढी लुगाफाटा तथा कम्बल सो क्षेत्रका जाडो पिडितलाई वितरण गरेका थिए । वितरण कार्यमा सप्तरी जिल्ला का जिल्ला प्रशासन प्रमुख भागिरथ पाण्डेले पूर्ण सहयोग तथा स्थानीय प्रहरी प्रशासनले विशेष सहयोग गरेका थिए ।
न्यानो माया वितरण गर्न गएका हातेमालो नेपालका सचिव सरोज महतो तथा देवानन्द मेहताले मधेशमा चलेको चिसो हावा र शितलहरले आर्थिक अवस्था कमजोर भएकाहरुको जनजीवन निकै कष्टकर रहेको बताए ।
हातेमालो नेपालका अध्यक्ष चर्चित पत्रकार अनन्त अनुरागको नेतृत्वको टिमले सन्चालन गरेको मायाको चिनो न्यानो उपहार कार्यक्रम निरन्तर जारी रहने बताए, उनले भने, हाम्रो अभियान जारी रहनेछ, दाताहरुको सहयोगलाई हामी पिडित सम्म पुर्याउन २४ औं घण्टा प्रतिबद्ध छौं । फोटोःसरोज मेहता
Powered by Blogger.