मनाङमा पिउने पानी जम्यो, तालमाथि पैदल हिँड्न सकिने !

काठमाडौंलाई थाहा हुँदैन मनाङको मौसम

फाइल तस्वीर
२४ पुस, मनाङ । हिमाली जिल्ला मनाङमा अत्यधिक चिसोका कारण धाराको पानीसमेत जमेकाले पिउने पानीको अभाव हुन थालेको छ ।
स्थानीय खोलाको पानी र उपल्लो मुस्ताङको तालको पानी जमेको छ । तालमाथि मानिस हिँड्न सकिने गरी बरफ जमेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार स्थानीय खोलानालाको पानी बरफ बनेको छ । पिउने पानीका मुहानहरु जमेका छन् ।
प्रजिअ पन्तले अनलाइनखबरसँग भने, ‘धारामा पानी जमेकाले पानी आउन छाडेको छ, पानी थाप्नका लागि पाइप तताउनुपर्ने अवस्था छ ।’
पन्तका अनुसार गंगापूर्ण तालको पानी मान्छे हिँड्न मिल्ने गरी बरफ बनेको छ । स्थानीय खोलानाला समेत जमेका छन् । तर, अरु भन्दा ठूलो भएकाले मर्स्याङ्दी नदी भने जमेको छैन ।
अत्यधीक चिसोका कारण पानी जमे पनि मनाङमा हिमपात भने सुरु भइसकेको छैन । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको देखिन्छ । हिमपात सुरु भएमा जनजीवन अझै कष्टकर हुने प्रजिअ पन्त बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार सदरमुकाम चामेमा अहिले घाम लागेको छ, तर चिसो अत्यधिक छ । इन्टरनेटमा तापक्रम चेक गर्दा सोमबार बिहान १० बजेतिर माइनस १२ डिग्री सेल्सियस देखाएको पन्तले जानकारी दिए ।
उनका अनुसार आइतबार माइनस १४ डिग्री देखाएको थियो ।
चहल-पहल शून्य
चिसो अत्यधिक बढेपछि जिल्लाका अधिकांश व्यक्तिले गाउँ छाडेका छन् । जाडो छल्न धेरैजसो पोखरा, काठमाडौंलगायतका स्थानमा जाने गरेका छन् ।
जाडोका कारण बजार र गाउँघरमा चहलपहल छैन । अधिकांशका घरमा वृद्धवृद्धा, बालबालिका, अशक्तहरुमात्रै देखिन्छन् ।
सरकारी कार्यालयहरुमा पनि सेवाग्राही फाट्टफुट्ट आउने गर्दछन् । विद्यालयहरु बन्द छन् ।
‘आगो बाल्ने दाउरा पनि पर्याप्त हुँदैन, पुर्‍याई पुर्‍यााई बाल्नुपर्छ,’ प्रजिअ पन्तले भने, ‘झ्यालढोका बन्द गरेर, सिरक ओढेर बस्ने, तातो चिज खाने गरेर दिन बित्छ ।’
हुलाकमार्फत काठमाडौं आइपुग्छ मौसमी विवरण
चिसोले जिल्लाको जनजीवन अस्तव्यस्त हुँदा पनि सरकारसँग मनाङ जिल्लाको आधिकारिक रेकर्ड छैन ।
काठमाडौंमा रहेको मौसम पूर्वानुमान महाशाखाले देशका मुख्य-मुख्य स्थानको तापक्रम हरेक दिन सार्वजनिक गर्ने गरेको छ । तर, मनाङ यस्तो जिल्ला हो, जहाँको तापक्रम महाशाखाले समेत महिनामा एकपटक मात्रै थाहा पाउँछ ।
अझै रोचक त के छ भने तापक्रमको विवरण हुलाकमार्फत महाशाखासम्म आइपुग्छ ।
महाशाखाका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘टेक्नोलोजी र सञ्चार सम्पर्क नहुँदा मनाङको तापक्रमको विवरण हुलाकमार्फत महिनामा एकपटक आउने गर्छ । अहिले त्यहाँको तापक्रम कति छ भन्ने जानकारी हामीलाई छैन ।’

No comments

Powered by Blogger.