Tuesday, December 12, 2017

मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख दिने घोषणा गरेको छ ।राजपाले बिहिबार महोत्तरी जिल्लाको जलेश्वरमा घोषणा पत्र सार्वजनिक गरेको छ ।

‘ प्रदेश नम्बर २ मा राजपा–फोरम गठबन्धनको सरकार बन्छ ’ घोषणा पत्र सार्वजनिक समारोहमा बोल्दै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने,‘ मधेश सरकारले सहिद परिवारलाई ५० लाख रुपैया उपलब्ध गराउने छ ।
मधेश आन्दोलन जारी रहेको बेला तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सहिदको परिवारलाई ५० लाख दिने निर्णय गरेको थियो । मोर्चाको उक्त निर्णयलाई आन्दोलनमा हिंसा भड्काउन गरिएको निर्णय भन्दै ब्यापक आलोचना गरिएको थियो । सरकारले मधेश आन्दोलनका सहिद परिवारलाई १० लाख दिएको छ ।
नेता महतोले सहिद परिवारलाई ५० लाख दिने घोषणा गरेपनि उक्त राशी बारे घोषणा पत्रमा केहि उल्लेख छैन् । तर अध्यक्ष मण्डलका सदस्य महतोले भने ,   ‘  दुई नम्बर प्रदेशमा आफ्नो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराईने छ ।’
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेको महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित घोषणा सभामा सहिद परिवारलाई प्रदेश सरकारमा जागिर, सन्तानलाई निशुल्क शिक्षा, स्वरोजगारीका लागि आवश्यक बजेट उपलब्ध गराइने जस्ता आश्वासन नेता महतोले दिए ।
१५ बुँदे घोषणा पत्रमा पहिचान, अधिकार र स्वाभिमानको संघर्षलाई निरन्तरतादिदै आन्दोलनलाई जारी राख्ने जनाएको छ ।
 बाढी पहिरोको स्थायी समाधान , हुलाकी राजमार्गलाई निरन्तरता , तराईमा सडक सञ्जाल बिस्तार, रेल सेवाको बिस्तार र लुम्बिनीलाई अन्तराष्ट्रिय बुद्धिष्ट केन्द्र बनाउने घोषणा पत्रमा उल्लेख छ ।
जनकपुरलाई अन्राष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दु केन्द्र बनाउने र बीरगञ्जलाई नेपालको आर्थिक कारोबार एवं ब्यापारको प्रमुख केन्द्र, बिराटनगर, भैरहवा र नेपालगञ्ज देसको प्रमुख मेरुदण्ड र निजगढ–काठमाण्डु द्रुत मार्गको निर्माण एवं अन्तराष्ट्रिय विमान स्थल निर्माण लगायतका आश्वासनहरु घोषणा पत्रमा समेटिएको छ ।
घोषणा पत्रको प्रस्तावनामा नेपाललाई ‘बहुराष्ट्रिय’देस भन्दै एउटै राज्यमा कयौं राष्ट्र हुने गरेको प्रष्टिकरणदिदै तराई मधेशमा बसोबास गर्ने दलित, आदीबासी, जनजाती, मुस्लिम मधेशीहरुको बस्तीपनि एउटा राष्ट्र भनिएको छ ।
‘एउटा राज्य–राष्ट्रको निर्माण तब मात्र प्रारम्भ हुन्छ , जब मुलुकका सबै तह, तप्का, वर्ग, समुदाय र नागरिकले समानताको महसुस गर्छन् र राज्य निर्माणको अभिभारा समान रुपले ग्रहण गर्छ’ घोषणा पत्रमा अगाडी भनिएको छ, ‘ यसको प्रस्थान विन्दु लोकतन्त्र हो, भने यसको सबै भन्दा ठूलो चुनौती विभेद हो ।’
घोषणा पत्र सार्वजनिक सभामा महोत्तरी जिल्लामै रहेका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी, सर्लाहीमा रहेका महेन्द्र राय, रौतहटमा रहेका अनिल झा, सिराहामा रहेका राजकिसोर यादव सहभागि थिएनन् ।

धनुषा ३ (ख) मा राजपा विजयी

जनकपुरधाम :  धनुषा क्षेत्र नं ३ (ख) मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार परमेश्वर साह सुडी १५ हजार २९३ मत प्राप्त गरी विजयी हुनु भएको छ ।


उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्यामप्रसाद साहले १० हजार ४७२ मत प्राप्त गर्नु भएको छ ।

यो जित मधेस आन्दोलनको जित हो:महतो

जनकपुरधाम  । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका राजेन्द्र महतोले मधेस आन्दोलनको जित भएको बताउनुभएको छ । आफ्नो जितपछि संचारकर्मीसँग नेता महतोले आफ्नो जितलाई मधेस आन्दोलनतको जित बताउनुभयो । 
‘यो मधेस आन्दोलनको जित हो, धनुषाको जित हो, सम्पूर्ण मधेसी जनताको जित हो, महतोले भन्नुभयो, जनकपुर मधेस आन्दोलनको राजधानी भएकाले यहाँबाट मधेसवादी दलले जित्नु भनेको ठूलो उपलब्धी हो ।’ अब संविधान संशोधन र मधेस विकासका लागि आफ्नो प्रयास रहने उहाँको प्रतिक्रिया छ ।
‘संविधान संशोधनका लागि केन्द्रमा हाम्रो संघर्ष जारी रहन्छ, हामीलाई पूरा विश्वास छ, दुई नम्बर प्रदेशमा हाम्रो सरकार बन्छ, त्यो सरकारमार्फत् हामी विकासको एजेन्डा अघि बढाउछौं’ महतोले भन्नुभयो । 
महतोले धनुषा क्षेत्र नम्बर ३ मा काँग्रेसका विमलेन्द्र निधिलाई पराजित गर्नुभएको हो । महतोले निधिलाई २९ सय ३ मतान्तरले हराउनुभयो । महतोले कुल ३० हजार ७ सय ५० मत पाउँदा निधिले २७ हजार ८ सय ४७ मत पाउनुभयो । 
जितपछि महतोले अब केन्द्रमा संविधान संशोधनका लागि वाम गठबन्धनसँग सहकार्य गरेर जाने बताउनुभएको छ । ‘हामी केन्द्रमा संविधान संशोधनका लागि वाम गठबन्धन लगायत अन्य दलसँग सहकार्य गरेर जानेछौं,’ महतोले भन्नुभयो, ‘संविधानमा छुटेका अधिकारहरू दिलाउन हाम्रो प्रयास रहनेछ, हाम्रो संवैधानिक अधिकारको सुनिश्चितताका लागि हामी वाम गठबन्धन र अन्य सबै दलहरूसँग सहकार्य गर्न तयार छौं ।’

नेपाल र एंगोलाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, अफ्रिकी मुलुक एंगोलासँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । 
कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपाल र एंगोलाका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र इस्मेल आब्राओ गसपार मार्टिनले हस्ताक्षर गर्नुभयो । राष्ट्र संघको प्रधान कार्यालयमा आज आयोजित समारोहमा दुवै मुलुकका राजदूतले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । 
उक्त नियोगका अनुसार नेपाल र एंगोलाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई दिइएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध १५४ मुलुकसँग विस्तार भएको छ । 

राजपा अध्यक्षमण्डल सदस्य भण्डारी विजयी

महोत्तरी :  महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले विजयी हासिल गर्नुभएको छ । आज बिहान प्राप्त भएको मतपरिणामअनुसार भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ । भण्डारीका निकटतम प्रतिद्वन्द्वी किरण यादवले १३ हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।

लोकसेवाले एकैपटक माग्यो ३९० शाखा अधिकृत

२७ मंसिर, काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला गरेको हो ।
व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरेको छ । समावेशीतर्फ आदिवासी-जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद सिर्जना गरेको आयोगले आदिवासी-जनजाति मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि विभिन्न कोटा तोकेको छ ।

अनलाइनबाटै दरखास्त फारम भर्न सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्म दिन पाइने छ । दोब्बर दस्तुरमा पुस २५ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।आयोगले ४ चरणको परिक्षापछि अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था गरेको छ । आयोगका अनुसार लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता पछि अन्तिम नामावली प्रकाशित हुनेछ ।
दरखास्तवालाले आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टा-छुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ ।
आयोगले दरखास्तको लागि बुझाइने रकम आयोगको केन्द्रीय कार्यालय तथा काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु र आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्ला हुलाक कार्यालयहरुमा गएर समेत जम्मा गर्न सकिने छ ।
२०७४ मंसिर २७ गते ११:४९ मा प्रकाशित

ताप्लेजुङमा आगलागी, ३ लाख बराबरको क्षति

२७ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको याङ्वरक गाउँपालिकाको एक घरमा आगलागि हुँदा तीन लाख बराबरको क्षति भएको छ ।
याङ्वरक गाउँपालिका–५ बस्ने पदमलाल तिम्सिनाको फुसको छानो भएको एकतले घरमा मंगलबार बेलुका आगलागी भएको हो ।

आगो प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी चौकी थुम्बेदिनले जनाएको छ ।बेलुका करिब सवा ५ बजे अचानक भएको आगलागीबाट तिम्सिनाको एक तले घर, घरभित्र रहेको अन्नपात, भाँडा–वर्तन, लत्ताकपडा, गाईगोठ जलेर नष्ट हुँदा २ लाख ७८ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
२०७४ मंसिर २७ गते ८:३५ मा प्रकाशि
Powered by Blogger.